ओलम्पिक हुँदा किन दिक्क छन् पेरिसका बासिन्दा ?

नेपालभ्युज

ओलम्पिक हुँदा किन दिक्क छन् पेरिसका बासिन्दा ?

काठमाडौं । पेरिस ओलम्पिकको उद्घाटन समारोह सुरु हुन अब केही घण्टा बाँकी छ । चाखलाग्दो कुरा के छ भने विभिन्न स्थानमा आयोजनास्थल बनाउनुको साटो यसपटक सहरको बीचमा नै प्रतियोगिता हुँदैछ ।

यस हिसाबले यो संस्करण केही फरक छ । पेरिस सहर अहिले आफैँ आयोजनास्थल भइरहेको छ । नयाँ संरचनामा खर्च नगरी मौजुदा ढाँचालाई अझ राम्रो बनाउन र सहरका प्रसिद्धस्थललाई अस्थायी स्थान बनाउने प्रयास गरिएको छ ।

आइफल टावर, जो इन्जिनियरिङको चमत्कार मानिन्छ, त्यसले विश्वभरका पर्यटकलाई लोभ्याउने गरेको छ । त्यसकै छेउमा बिचबल एक्सन हुँदै छ । ओलम्पिकको उद्घाटन समारोह सीन नदीमा हुनेछ।

यसअघि पेरिसले १०० वर्षअघि ओलम्पिकको आयोजना गरेको थियो । त्यतिबेला विश्वव्यापी खेल आयोजना गर्नुको उद्देश्य विशेषगरी शान्तिलाई बढावा दिने हुने गर्थ्यो ।

सन् १९२४ मा पेरिसमा ४४ देशका तीन हजारभन्दा बढी खेलाडी आएकामा अब ‘रोशनीको सहर’ र ‘फेसनको सहर’ पनि भनिने पेरिसले यसपटक करिब ११ हजार खेलाडीलाई स्वागत गर्दैछ ।

पेरिसको सहरी नियोजनका एक अधिकारीले आफूहरूले ओलम्पिकलाई सहरमा परिवर्तन ल्याउन एक ठूलो मौकाको रूपमा लिएको जनाउँदै सार्वजनिक स्थान, सार्वजनिक परिवहन, नदीलगायतमा परिवर्तन गरिएको जनाएका छन् ।

‘यदि खेल नभएको भए यसमा बदलाब ल्याउन एक वा दुई दशक अझै लाग्न सक्थ्यो,’ ती अधिकारीले भने ।

नयाँ व्यवस्थाले स्थानीय भने दिक्क छन्, चिन्तित छन् । ओलम्पिक आयोजनाका कारण स्थानीयलाई घुमफिर गर्न कठिनाइ भएको छ । उनीहरूलाई एक स्थानबाट अर्को स्थानमा जान कारण बताउनुपर्ने अवस्था आएको छ । सरकारी अधिकारीलाई सन्तुष्ट बनाउन सकेमात्र उनीहरूलाई यात्रा अनुमति मिल्छ ।

पेरिसका स्थानीय जोन भन्छन्, ‘न्यू पेरिसमा प्रवेश गर्न तपाईंलाई अब मजबुत कारण चाहिन्छ । तपाईंले अनुरोध गर्नु पर्नेछ र अनुमति मिलेमा तपाईंलाई एक क्यूआर कोड मिल्नेछ । जसबाट तपाईं सहरमा छिर्न सक्नुहुनेछ ।’

आयोजनास्थलको छेउमा बस्ने धेरैलाई सहर छोड्न भनिएको छ । ओलम्पिकस्थलका भवनहरूलाई आयोजकले प्रयोग गरिरहेको छ ।

अधिकतम सुरक्षाकर्मी त्यहाँ परिचालन गरिएको छ । उद्घाटन समारोहमा दुई लाख मानिसलाई निम्त्याइएको छ । केही निम्तो त्यहाँ चुनिएका बासिन्दा र खेल प्रशासकलाई पठाइएको छ ।

एक अनुमानका अनुसार खेलको समयमा करिब २० लाख उपकरण प्रयोग गरिनेछ । उपयोग गरिने कम्प्युटर र प्रिन्टर पनि भाडामा लिइएको छ ।

कम संशाधनको उपयोग गर्ने भनेर फर्निचरको संख्या सुरुमा आठ लाख अनुमान गरिएकामा घटाएर ६ लाख पुर्‍याइएको छ । इलेक्ट्रिक, हाइब्रिड र हाइड्रोजनबाट चल्ने बाहन उपयोग गरिने भएको छ ।

पछिल्लो संस्करणको तुलनामा यसको संख्या ४० प्रतिशत कम गरिएको छ । जेनेरेटर पनि हाइड्रोजन वा ब्याट्री सञ्चालित हुनेछन् ।

ओलम्पिकका लागि ३५ प्रतियोगितास्थलमा केवल दुइटालाई मात्रै नयाँ हिसाबले बनाइएको छ । त्यसमा एउटा एकेटिक्स सेन्टर । जसलाई काठको प्रयोग गरी बनाइएको छ । यसको उद्देश्य कार्बन उत्सर्जन कम होस् भन्ने हो ।

आयोजनास्थलका सिट रिसाइकिल्ड प्लास्टिकले बनाइएको छ । जसलाई रणनीतिक हिसाबले यस्तो ठाउँमा बनाइएको छ, जुन क्षेत्रमा खेलका ढाँचाको कमी थियो । दोस्रो नयाँ स्थल पोर्टे डे ला चैपल एरेना हो ।

लैंगिक समानता 
यसपालि पहिलोपटक १० हजार ५०० खेलाडीमा आधा महिला हुनेछन् । जुन लैंगिक समानता सुनिश्चित गर्ने दिशामा ठूलो कदम मानिएको छ । टोकियोको पछिल्लो संस्करणमा महिला खेलाडीको संख्या कुल प्रतियोगीमा ४७।८ प्रतिशत थियो ।

१९७२ मा म्युनिखमा हुँदासम्म महिलाको सहभागिता २० प्रतिशतभन्दा पनि कम थियो । समापन समारोहमा पुरूषको साटो महिलाको म्याराथन हुनेछ । यस संस्करणमा ३२ मध्ये २८ खेलमा पुरूष र महिला दुवैले भाग लिनेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved