काठमाडौं। फिडेमास्टर रुपेश जैसवालले फिडे रेटिङ्ग बुद्धिचालको उपाधि जितेका छन्। उनले स्वर्गीय राजेशहरि जोशी स्मृति फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका हुन्।
ललितपुर स्पोर्टस् क्लबद्वारा आयोजित प्रतियोगितामा जैसवालले ९ खेलमा २ बराबरी र ७ जीतका साथ ८ अंक प्राप्त गरेका थिए। उपाधिसँगै उनले ५० हजार नगद पुरस्कार हात पारे।
त्यसैगरी समान साढे ७ अंक प्राप्त गरेपनि ‘प्रोग्रेसिभ टाइब्रेक’मा थापाथली चेस क्लबका फिडे मास्टर क्षितिज घिमिरे दोस्रो र सर्लाहीका कमल श्रेष्ठ तेस्रो भए।
पाँच दिने प्रतियोगितामा महिलातर्फ सुजाना लोहनी, अनिषा न्यौपाने, आभा पुडासैनी क्रमशः प्रथम, द्वितीय र तृतीय भए। अनरेटेडतर्फ सानुभाइ महर्जन प्रथम र विनय राई द्वितीय भए।
विजयी खेलाडीलाई आयोजक क्लबका अध्यक्ष हेराकाजी महर्जन र समारोहमा प्रमुख अतिथि राखेपका सदस्यसचिव रमेश सिलवालले पुरस्कार वितरण गरेका थिए।
Facebook Comment
Comment