रोनाल्डो शैलीमा एमबाप्पेको रियल मड्रिडमा भएको त्यो भव्य स्वागत

नेपालभ्युज

रोनाल्डो शैलीमा एमबाप्पेको रियल मड्रिडमा भएको त्यो भव्य स्वागत

काठमाडौं । बालपनमा धेरैको अकल्पनीय सपना हुने गर्दछ । कतिले ती सपना पुरा गर्छन् भने कतिले जिन्दगीको दौडका आफ्नो सपनाको बाटो बिराउँछौँ । निकै थोरै मानिस हुन्छन्, जसले बालापनमा देखेको सपनालाई पुरा गर्छन्।

त्यस्तै, एक ज्वलन्त उदाहरण किलियन एमबाप्पे पनि हुन्। आफ्नो कोठामा रियल मड्रिडको पोस्टर टाँसेर सुत्ने एमबाप्पेले आफू सो क्लबको लागि एकदिन खेल्ने सपना देखेका थिए। विभिन्न उतारचढाव तथा दृढ संकल्पका कारण एमबाप्पेले आफ्नो त्यो सपना पूरा गर्न सफल भए।

सन् २०१३ मा एमबाप्पेले एस बन्डी नामक स्थानीय क्लबबाट आफ्नो क्लब करिअरको यात्रा सुरु गरेको थिए। करिब ११ वर्षको यात्रा तय गरेर पेरिस सेन्ट जर्मन (पीएसजी) क्लबबाट बाहिरिएर एमबाप्पेले आफ्नो सपना, रियल मड्रिडसँग सम्झौता गरेका हुन्।

तस्वीर स्रोत: रियल मड्रिड/फेसबुक

११ वर्षको लामो पर्खाईं पछि रियल मड्रिडमा भएको भव्य स्वागत कुनै उत्सव भन्दा कम थिएन। रियल मड्रिडको घरेलु मैदान सान्टिआगो बर्नबेउ रंगशालामा गत मंगलबार ८० हजार समर्थकले एमबाप्पेलाई रियल मड्रिडमा स्वागत गरे।

एमबाप्पेको आगमन आफैँमा रोचक रह्यो। उनको क्लबमा भएको आगमनले समर्थकमा पारेको प्रभाव प्रस्टै देखिन सकिन्थ्यो। ३ फरक क्षणमा समर्थकहरुबाट आएको प्रतिक्रिया यादगार बने।

स्क्रिनमा जब एमबाप्पे रंगशालामा प्रवेश गरेको देखाइयो, समर्थकहरुले आफ्नो आवाजमार्फत् आफ्नो खुसी व्यक्त गरे। नम्बर ९ को जर्सी लगाउँदै गर्दा पनि समर्थकहरुले निकालेको उच्च आवाज दोस्रो यादगार क्षण बन्यो। एमबाप्पेलाई रियल मड्रिडमा ल्याउन अहम भूमिका खेलेका अध्यक्ष फ्लोरेन्टिनो पेरेजको उपस्थिति तथा फुटबलका दिग्गज जिनेदिन जिदानको आकस्मिक आगमनले भने रंगशालमा एउटा तरंग उत्पन्न भएको थियो। जुन त्यसदिन समर्थकहरुको उत्साह झल्किएको तेस्रो क्षण थियो।

मंगलबार बिहानै देखि रंगशाला भरिसकेको थियो। औपचारिक पसलमा एमबाप्पेको जर्सी सबै सकिसकेको थियो। समर्थकहरुले एमबाप्पेको सार्कफ सडकबाट किनिरहेका थिए। जताततै एमबाप्पेको तस्वीर र चर्चा थियो। व्यापारीहरु एमबाप्पेका शर्ट, स्कार्फ र फेसमास्क बेचिरहेका थिए।

करिब ३२ डिग्री सेल्सियसको तापक्रमका पनि समर्थकहरु रंगशालाको गट खुल्ने प्रतिक्षा गरिरहेका थिए। केवल एक खेलाडीको स्वागत भएपनि सो समहारो कुनै लालिगाको खेलभन्दा कम थिएन। प्रवेशको बेला कुनै समस्या नहोस भनेर मड्रिडले कार्यक्रम सुरु हुन १ घण्टा २० मिनेट अगाडि नै गेट खोल्नुको विकल्प रहेन।

गर्मी बिदा मनाइरहेका स्कुलका अत्याधिक विद्यार्थीहरु प्रवेशद्धारमा उभिरहेका थिए। एमबाप्पेको फाउन्डेसनको सहयोगमा ३१६ बालबालिका फ्रान्सबाट सो कार्यक्रममा सहभागी हुन आएका थिए। सबैले एमबाप्पेको बाल्यकालको तस्वीर छापिएको टि–सर्ट लगाएका थिए।

यता, दर्शकहरु आतुर भएर कुरिरहेका थिए। उता, एमबाप्पे भने आफ्नो स्वास्थ्य प्रशिक्षण गरी, मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीसँग भेटेर फिटनेस ट्रेनर एन्टोनियो पिन्टस र केही स्क्वाडका केही खेलाडीसँग पनि भेटे। यसपश्चात रियल मड्रिडको मुख्यालमा उनले अध्यक्ष फ्लोरेन्टिनो पेरेजसँग सम्झौँतामा हस्ताक्षर गरे।

सान्टिआगो बर्नबेउ रंगशालाको मुहार पनि परिवर्तन भएको थियो। मैदानलाई विशेष सजावट गरिएको थियो। मैदानलाई मञ्चमा परिवर्तन गरिएको थियो। गोलपोस्टको स्थानमा एउटा विशाल मञ्च राखिएको थियो। एउटा ठूलो स्क्रिन पनि राखिएको थियो। मञ्चमा मड्रिडको १५ यूरोपियन कपलाई राखिएको थियो। एमबाप्पेको लागि टनेलबाट निस्किँदै पिचमा पुग्न निलो रङको कपडा बिछ्याइएको थियो।

तस्वीर स्रोत: रियल मड्रिड/फेसबुक

एमबाप्पेको खेल जीवनको उत्कृष्ट क्षणहरुलाई समेटेर एउटा भिडियो फुटेज तयार गरिएको थियो। सन् २०१२ मा जिदानले एमबाप्पेलाई प्रशिक्षण दिइरहेको एउटा फुटेज पनि समावेश गरिएको थियो। पहिलो पटक एमबाप्पे ट्रायलको दिनको लागि भाल्देबेबासको तालिम मैदानमा आएका थिए।

यस्तै, कार्यक्रमपश्चातको पत्रकार सम्मेलन करिब ४० मिनेट लामो चल्यो । जसमा उनले धेरै प्रश्नको उत्तर स्प्यानिशमा नै दिए। फ्रान्सबाट आएका पत्रकारहरुका लागि मात्र उनले फ्रेन्च बोलेका थिए।

जिदान रियल माड्रिडको आफ्नो पहिलो याद भएको एमबाप्पेले एक मिडिया अन्तक्रियामा बताएका थिए। एमबाप्पेको त्यो क्षणलाई यादगार बनाउन उनका आमाबुबासहित करिब ४० मानिसहरु आएका थिए।

तस्वीर स्रोत: रियल मड्रिड/फेसबुक

मञ्चमा गएपश्चात उनले आफ्नो भावना व्यक्त गर्दै भने, ‘मैले धेरै वर्ष रियल मड्रिडको लागि खेल्दै गरेको सपना देखेर निदाए। म निकै खुसी छु।’ उनले आफ्नो ड्रिम क्लबको लागि खेल्ने सपना पूरा गरेकोमा पनि खुसी व्यक्त गरे।

१५ वर्षअगाडि एमबाप्पेका आइडल क्रिस्टियानो रोखनाल्डोलाई पनि यस्तै स्वागत गरिएको थियो। उनको स्वागतमा ८५ हजार समर्थकले उपस्थिति जनाएका थिए।
सन् २००९, ६ जुलाईंमा जसरी रोनाल्डोले माइकमा बोलेका थिए, सोही शैलीमा सोही शव्दहरु दोहोर्याएर उनले रियल मड्रिडसँगको आफ्नो यात्रा सुरु गरे।

उनले भने, ‘एउटा ठुलो परिवारको रुपमा हामी भन्दैँ छौँ–वान, टु, थ्री…हाला मड्रिड।’ समर्थकहरु उठेर दोहोर्याएका ती शव्दले पूरै रंगशाला नै गुन्ज्यमान भयो। एमबाप्पेको सम्झौतालाई लिएर मड्रिड र उनको सम्बन्ध चिसिएको हल्ला पनि थियो। तथापि, एमबाप्पेको सम्बोधनले सम्बन्धको फरक पाटो प्रस्टायो।

तस्वीर स्रोत: रियल मड्रिड/फेसबुक

रियल मड्रिडमा एमबाप्पेको आगमनलाई ऐतिहासिक दिनको रुपमा लिइएको छ। समर्थकहरुले एम्बाप्पेलाई क्लबको ब्याजलाई चुम्बन गर्न आग्रह गर्दा पनि उनले सहजै स्वीकारेर क्लबप्रतिको आफ्नो माया झल्काए।

उनले रियल मड्रिडले रोनाल्डोलाई स्वागत गरेको कार्यक्रम आफूले हेरेको पनि बताए। ‘आफ्नो परिवारसँग बसेर त्यो कार्यक्रम हेरेको थिएँ। अरु बच्चाले जसरी आफू एकदिन रोनाल्डो बन्ने भनेको थिए, ’उनले भने।

बाल्यकालदेखि रियल मड्रिडलाई एमबाप्पेले पछ्याउँदै आएका थिए। उनले क्लबमा ट्रायल पनि दिए। सन् २०१७ र सन् २०२२ मा उनले लगभग सो क्लबसँग आबद्ध भइसकेका थिए। सन् २०२३–२०२४ मा पेरिस सेन्ट जर्मेनसँगको सम्झौता सकिएसँगै एमबाप्पेले ५ वर्षका लागि रियल मड्रिडसँग सम्झौता गर्न सफल भए।

उनले सन् २०२१–२२ मा टोलीमा आबद्ध नभएपनि त्यो क्षण आउनेमा आफु विश्वस्त भएको पनि बताए। आफूलाई विभिन्न क्लबबाट प्रस्ताव आएपनि ‘पेरिस छाडे, म रियल मड्रिड जान्छु’ भन्ने भावना सदैव भएका पनि उनले बताए।

एमबाप्पेले रोनाल्डोको शैलीलाई दोहोर्याउनु पछिको कारण पनि खुलाए। ‘रोनाल्डो मेरो बाल्यकालका आइडल हुन्। अहिले म भाग्यशाली छु की उनी मेरो मित्र हुन्, उनले मलाईं धेरै सुझाव दिन्छन्। हामी नियमित कुराकानी गर्छौँ। उनले रियल मड्रिडमा इतिहास रचेका छन्।’

आफ्नो स्थानबारे उठेको प्रश्नलाई भने उनले प्रशिक्षकको इच्छा अनुरुप खेल्ने बताए। ‘अट्याक गर्दा म ३ स्थानबाट खेल्न सक्छु। सबैभन्दा मुख्य कुरा भनेको मानसिक र शारिरीक रुपमा ठीक भएर टोलीलाई सहयोग गर्नु हुनेछ। जुन स्थानमा भएपनि मलाई मैदानमा खेल्नु छ। ’

गत मंगलबार स्टार खेलाडीको टोलीमा एमबाप्पेको आगमनले रियल मड्रिडको एउटा नयाँ अध्यायको सुरुवात भएको छ। तथापि, रोनाल्डोलाई आफ्नो आइडल मान्ने एमबाप्पेले कहिले डेब्यू गर्छन् र उनको प्रदर्शनले रियल मड्रिडले कस्तो उचाईं छुन्छ ? यो थाहा पाउनु भने पर्खिनु पर्ने देखिन्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved