काठमाडौं । सरकारले त्रिशूली नदीमा बेपत्ता भएकाको खोजीका लागि नेपालमा उपलब्ध स्रोत साधन पर्याप्त नभएको भन्दै छिमेकी मुलुकसँग सहयोग माग्ने तयारी गरेको छ ।
शुक्रबारदेखि हराइरहेका बस र यात्रु चार दिन हुँदा पनि नभेटिएपछि विदेशी गोताखोरको सहयोग लिनुपर्ने भएको हो ।
चार दिनदेखि हराइरहेका बस र बसमा सवार यात्रुको खोजीका लागि सरकारले भारत र बंगलादेशसँग सहयोग मागेको छ ।
गृहसचिव एकनारायण अर्यालले भारत र बंगलादेशका अधिकारीसँग सहयोगका लागि सम्पर्क गरेको बताए ।
नेपालमा उपलब्ध सबै खालका प्रविधि र जनशक्ति प्रयोग गरेर खोजी गर्दा पनि भेट्न नसकेपछि सरकारले विदेशी गोताखारको सहयोग लिने तयारीमा पुगेको हो ।
अर्यालले भारत र बंगलादेशको प्राविधिक टोलीलाई त्रिशूलीको बस्तुगत स्थिती र पानीको वहावबारे जानकारी गराएका थिए ।
बंगलादेशले भने त्रिशूलीजस्तो तीव्र बहाव भएको नदीहरुमा उद्दारको अनुभव आफुहरुसँग नभएको जवाफ दिएको बुझिएको छ ।
नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत सिमलतालमा शुक्रबार बिहान साढे ३ बजे तिर दुई वटा यात्रुबाहक बस झण्डै ६० यात्रुसहित त्रिशुली नदीमा खसेर बेपत्ता भएका थिए ।
चार दिनको अनवरत खोजीमा अहिलेसम्म ११ जनाको मात्र शव फेला परेको छ ।
खोज तथा उद्धार कार्यमा सशस्त्र प्रहरीको गोताखोरसहित करिब पाँच सय जनाको टोली परिचालित छ । नदीको तीव्र बहावका कारण खोजी कार्य कठिन भइरहेको छ ।
Facebook Comment
Comment