तालिबान कब्जापछि ८० प्रतिशत अफगान पत्रकारले बदले पेशा

सर्वेक्षण अनुसार कुल २३१ मिडिया आउटलेटहरू बन्द गर्नु परेको छ। जसबाट ६ हजार ४०० भन्दा बढी पत्रकारहरूले १५ अगस्टदेखि आफ्नो रोजगारी गुमाएका छन्।

नेपालभ्युज

तालिबान कब्जापछि ८० प्रतिशत अफगान पत्रकारले बदले पेशा

एजेन्सी। तालिबानले सत्ता नियन्त्रणमा लिएपछि झण्डै ८० प्रतिशत अफगान पत्रकारले आफ्नो पेशा परिवर्तन गरेका छन्।

अफगानिस्तानको पत्रकार फाउण्डेसनले जनाएअनुसार अफगान पत्रकारहरू सबैभन्दा खराब आर्थिक अवस्थाबाट गुज्रिरहेका छन्। किनभने तिनीहरूमध्ये ७९ प्रतिशतले आफ्नो जागिर गुमाएका छन्।

जिविकोपार्जनका निम्ति पत्रकारहरुले अन्य पेशाको सहारा लिन बाध्य भएको खामा प्रेसले उल्लेख गरेको छ। त्यसअघि अफगानिस्तानमा ७५ प्रतिशतसम्म सञ्चारमाध्यम आर्थिक संकटका कारण बन्द भएको तथ्यांकले देखाएको छ।

“(पूर्व) सरकारको पतनपछि, पूर्वी प्रान्त नान्गाहार, लघमान, नुरिस्तानमा ६ ओटा रेडियो स्टेशनहरू बन्द भएका छन्। तीमध्ये पाँचवटा आर्थिक चुनौतीहरूको कारणले सञ्चालनमा रोकिएका छन् र बाँकी कर्मचारीको अभावले बन्द भएको छ,” पूर्वी अफगानिस्तानमा रहेको अफगान पत्रकार सुरक्षा समितिका प्रमुख युसुफ जरिफीले उल्लेख गरेका छन्।

अफगानिस्तानभर ४६२ अफगान पत्रकारले सर्वेक्षणमा भाग लिएका छन्, जसमध्ये ३९० पुरुष र ७२ महिला थिए। केही पत्रकारहरूले आफ्नो आर्थिक स्थितिको बारेमा चिन्ता व्यक्त गर्दै धेरै मिडिया आउटलेटहरूले हालसालै सञ्चालन रोकेकाले आफ्नो जागिर गुमाएको उल्लेख गरेको टोलो न्यूजले रिपोर्ट गरेको छ।

फाउण्डेसनले अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेको डेढ महीनामा अफगान पत्रकारहरूको पेशागत जीवनको मूल्यांकन गरेको थियो। र, उनीहरू कमजोर आर्थिक अवस्थाका कारण सबैभन्दा खराब जीवन बिताइरहेको पत्ता लगाएको थियो।

फाउण्डेसनले अफगान पत्रकारहरूको आर्थिक अवस्थालाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय समुदाय र अफगानिस्तानको इस्लामिक इमिरेट्सलाई आह्वान गरेको पनि खामा प्रेसले रिपोर्ट गरेको छ।

रिपोर्टर्स विदआउट बोर्डर्स (आरएसएफ) र अफगान स्वतन्त्र पत्रकार संघ (एआईजेए)ले गरेको सर्वेक्षणले अगस्टदेखि अफगानिस्तानमा ४० प्रतिशत मिडिया आउटलेटहरू बन्द भएको र ८० प्रतिशत महिला पत्रकार र सञ्चारकर्मी बेरोजगार भएको देखाएको छ।

सर्वेक्षण अनुसार कुल २३१ मिडिया आउटलेटहरू बन्द गर्नु परेको छ। जसबाट ६ हजार ४०० भन्दा बढी पत्रकारहरूले १५ अगस्टदेखि आफ्नो रोजगारी गुमाएका छन्।

महिला पत्रकारहरू सबैभन्दा बढी मारमा परेका छन्। हरेक पाँचमध्ये चार महिला पत्रकारले काम गुमाएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved