सिन्धुपाल्चोक । भोटेकोशी गाउँपालिका–४ मा निर्माणाधीन भोटेकोशी–१ जलविद्युत् आयोजनाको ढलान खसेर पुरिएका दुई मजदुर मृत अवस्थामा भेटिएका छन् ।
गए राति उद्धारकार्य थालिए पनि शनिबार बिहान ४ बजे दुवै मजदुर मृत भेटिएका हुन् ।
आयोजनाको डिसेन्डर कभर स्ल्याबमा च्यापिएर ज्यान गुमाउनेमा बर्दिया नगरपालिकाका रामजिन थारू र सुमन थारू रहेका छन् ।
उनीहरूको शव परीक्षणका लागि काभ्रेस्थित धुलिखेल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक निरञ्जन भट्टराईले जानकारी दिए ।
ढलानको संरचनाभन्दा तल्लो भागमा उनीहरू पुरिएकाले समयमै उद्धार गर्न नसकिएको उनी बताउँछन् ।
उक्त दुर्घटनामा ११ जना घाइते भएका थिए । गत वर्षको साउन महिनादेखि निर्माण सुरू गरिएको भोटेकोशी–१ जलविद्युत्को सुरूङभन्दा माथि मजदुर काम गरिरहेको समयमा एक्कासि स्ल्याब भत्किएको थियो ।
एघार जनाको तत्काल उद्धार गरिएको थियो । उनीहरू सबै घाइते छन् । उनीहरूको बाह्रबिसेस्थित किस्टोन र बाह्रबिसे नगर अस्पतालमा उपचार भइरहेको छ भने केहीलाई धुलिखेल लगिएको छ । रासस
Facebook Comment
Comment