काठमाडौं । सांसद सन्तोष चालिसेले बागमती नदी किन सफा हुन सकेन भनेर प्रश्न गरेका छन् । बिहीबार जारी संसद् बैठकको शून्य समयमा भाग लिँदै अर्थ समिति सभापतिसमेत रहेका सांसद चालिसेले यस्तो प्रश्न गरेका हुन् ।
बागमतीको सफाइका लागि तीस वर्षअगाडि अधिकारसम्पन्न एकीकृत बागमती सुधार आयोजनाको स्थापना भएर २१ अर्ब रुपैयाँ सकिँदासमेत बागमतीको अवस्था उस्तै रहेको उनले बताए ।
“यस वर्ष पनि २ अर्ब ७५ करोड बजेट छुट्याइएको छ । गत वर्ष पनि २ अर्ब ५२ करोड बजेट छुट्याइएकै थियो । १३० जना कर्मचारीहरू छन् । त्यहाँ २१ अर्ब रुपैयाँ खर्च भइसकेको छ तर, किन बागमती सफा भएन,” उनले प्रश्न गरे ।
उनले यति खर्च भइसक्दा पनि बागमतीको अवस्था नफेरिनु दुखद् भएको बताए । नदीको जल हातमा लिनसमेत मान्छेहरू हिच्किचाउने उल्लेख गर्दै उनले भने, “यसका किनारामा रहेका ठूला-ठूला बागमती दुर्गन्धित भएका छन् । त्यहाँको पानी हातमा लिनै हिच्किचाउने अवस्था हट्नुपर्छ ।”
सांसद चालिसेले ९ महिनायता आयोजनाको अध्यक्ष नियुक्तसमेत हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराए । “म सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छु कि चाँडैभन्दा चाँडै बागमती नदी सफा हुनुपर्यो,” उनले भने ।
Facebook Comment
Comment