सोलुखुम्बु । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका र रीड नेपालबीच शैक्षिक परियोजना साझेदारी हुने भएको छ ।
मङ्गलबार पालिका केन्द्र मुक्लीमा अध्यक्ष असिम राईको उपस्थितिमा भएको छलफलले विविध शैक्षिक कार्यक्रमहरूमा समन्वय गर्ने समझदारी गरेको हो ।
त्यसो त रीड नेपालले पालिकाभित्रका १५ वटा विद्यालयलाई हेरिरहेकै हो तर, अन्य विद्यालयमा समेत समान खाले कार्यक्रमहरू लागू गर्ने र बालबालिकाहरूलाई त्यस अवसरबाट किनाराकृत नगर्ने उद्देश्यले थप समझदारी भएको रीड नेपालका सोलुखुम्बु शिक्षा विकास संयोजक केशव गिरीले जानकारी दिए ।
“पालिका र हाम्रा मिल्दाजुल्ला शैक्षिक कार्यक्रमहरूमा समझदारी गरिएको हो,” संयोजक गिरीले भने, “एकैखाले कार्यक्रमहरू लागू होऊन् भनेर हो ।”
कुन-कुन कार्यक्रमहरूमा साझेदारी गर्ने भन्ने सन्दर्भमा पालिकाको बजेट आइसकेपछि टुङ्गो लाग्ने अध्यक्ष राईले बताएका छन् । पालिकाले संवैधानिक प्रावधानअनुरूप नै असार १० गते बजेट ल्याउँदैछ, सिलिङ वडाहरूलाई बाँडिसकिएको छ । बजेट आइसकेपछि साझेदारी हुने कार्यक्रमबारे टुङ्गो लाग्ने अध्यक्ष राईले छलफलका बीच बताएका छन् ।
प्रस्तावित साझेदारी कार्यक्रमहरूमा शिक्षक तालिम (खासगरी अङ्ग्रेजी, विज्ञान र गणित), ईसीडी (प्रारम्भिक बाल विकास), बालक्लब परिचालन तथा प्रतिभा प्रष्फुटन, विद्यालयको प्रोफाइल निर्माण, संयुक्त अनुगमनलगायत छन् ।
संयोजक गिरीले दण्डरहित, तनावरहित र विभेदरहित वातावरणमा बालबालिकाले राम्रा कुरा सिकून् भन्ने उद्देश्यले यस्ता कार्यक्रमहरूमा साझेदारी गरिएको र पालिकाले त्यसलाई स्वागत गरेको बताए । “हाम्रो टार्गेट बालबालिका हुन् । उनीहरूको सिकाइ प्रक्रिया गलत नहोस् र सिकाइ उपलब्धिबारे थाहा होस् भन्नको खातिर हो । साथै अभिभावकको सक्रियता र चासो बढाउने पनि हो,” उनले भने ।
उसो त पालिकाले शिक्षा क्षेत्रलाई विशेष महत्त्व दिँदै आएको छ । अध्यक्ष असिम राईको विशेष पहलकदमी तथा नेतृत्वमा स्थापित बहु-प्राविधिक शिक्षालयले गजब नतिजा देखाइसकेको छ । यो शिक्षालय डिप्लोमा इन सिभिल इन्जिनियरिङ तेश्रो सेमेस्टरमा ६५.७९ प्रतिशत विद्यार्थी उत्तीर्ण गराएर कोशी प्रदेशकै सबैभन्दा बढी विद्यार्थी उत्तीर्ण गराउने शिक्षालय बनेको थियो ।
सम्बन्धि समाचार हेर्नुस् थुलुङ दूधकोशी बहु-प्राविधिक बन्यो प्रदेशकै धेरै विद्यार्थी उत्तीर्ण गराउने शिक्षालय
Facebook Comment
Comment