काठमाडौं । चैते धान नबिकेपछि झापाका किसान चिन्तित भएका छन् । दुख गरेर उत्पादन गरेको धान बिक्रि नहुँदा किसान समस्यामा परेका छन् ।
यसअघि प्रति मन एक हजार ५० देखि एक हजार २ सय रुपैयाँसम्म बिक्रि हुँदै आएको धान अहिले भने बिक्न छाडेको कचनकवल गाउँपालिका–२ का किसान दुर्गाप्रसाद थापाले बताए ।
‘मिललाई धान पर्याप्त भएको हो वा किन हो थाहा भएन, दुई दिनदेखि बिक्री ठप्प छ’, उनले भने, ‘किसानले धान बाटोमा पछार्नुपर्ने अवस्था आइसकेको छ ।’
करिब तीन बिघा क्षेत्रफलमा चैते धानखेती गरेका कचनकवल–३ का अर्का किसान तोयानाथ मिश्रले यो वर्ष २५० मन धान उत्पादन हुने अनुमान गरिएको छ ।
‘शुरुशुरुमा एक हजार २०० प्रतिमन धान बिक्री भयो, सबैतिर धान पाक्न थालेपछि अहिले प्रतिमन ९०० भएको छ’, उनले भने । एक बिघाको धान काटेर थुपारेका व्यापारीले धान धेरै भयो, मिलले किन्न मानेन भनेर मूल्य कम दिनुका साथै अहिले बिक्री नै ठप्प भएको सुनाए । एक सातामै मिलले धानको मूल्य प्रतिमन ३०० ले घटाएका छन् ।
चैते धानमा चिस्यान बढी हुने भएकाले भण्डार गरेर राख्ने अवस्था नरहेको किसान बताउँछन् । मूल्य कम पाए पनि बेच्नैपर्ने बाध्यता रहेको उनीहरूको गुनासो छ ।
विगत एक दशकदेखि धान सुपरजोन घोषणा भएपछि कचनकवल क्षेत्रमा धान उत्पादन वृद्धि भएको छ । तर किसानले भाउ पाउन सकेका छैनन् ।
‘किसानले धान उत्पादन गरे पनि उचित मूल्य नपाउँदा कि त धान कुहिएर जाने अवस्था छ, कि त जतिमा भन्यो त्यतिमा बेच्नुपर्ने बाध्यता छ’, किसान मिश्रले गुनासो गरे, ‘नबेच्दा पनि उपाय छैन, अहिले किसानलाई निकै घाटा हुने अवस्था छ ।’
नेपालमा बर्सेनी धान आयात भइरहेको अवस्थामा उत्पादन गरेको धानले मूल्य नपाउनु र कुहिएर जाने अवस्था आउनु विडम्बना रहेको मिश्र बताउँछन् ।
गत चैत १५ गते मन्त्रिपरिषद्को बैठकले चालु आर्थिक वर्ष २०८०/ ८१ का लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल दुई हजार ७०७ रुपैयाँ २८ पैसा तोकेका थियो ।
सरकारी मूल्य अनुसार पनि प्रति मन एक हजार ८२ रुपैयाँ हुन आउछ । तर ब्यापारीले ९ सय रुपैयाँ पनि दिन मानेका छैनन् ।
रासस
Facebook Comment
Comment