काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो दल विभाजनविरुद्ध दायर गरेको मुद्दाको आइतबार अन्तिम बहस हुँदैछ । आज उक्त मुद्दामा सरकारी पक्ष र विपक्षीहरूले बहस गर्नेछन् ।
आफ्नो दल छाडेर जाने सात सांसदलाई सांसदको हैसियतमा कामकाज गर्न रोक लगाउन माग गर्दै यादवले सर्वोच्चमै अर्को रिट पनि दिएका थिए ।
शुक्रबार न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठको इजलासमा सुनुवाइ नसकिएपछि आइतबारका लागि पेसी तोकेर मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो ।
महान्यायाधिवक्ता कार्यालयबाट नायव महान्यायाधिवक्ता डा.टेकबहादुर घिमिरेले बहस गर्दैछन्। उनीपछि अशोक राईका कानुन व्यवसायीले बहस गर्नेछन् ।
शुक्रबार यादवका तर्फबाट बहसको सुरुवात भएको थियो । यादव पक्षको तर्क सुनेपछि सरकारी पक्षलाई बहसको समय दिइएको थियो । अशोक राईलगायतको पक्षले समेत बहस गर्न बाँकी भएकाले मुद्दा हेर्दाहेर्दै राखिएको थियो । त्यहीबाट सुनुवाइ सुरु गर्ने तयारी सर्वोच्चको छ ।
जसपा नेपाल छाडेका अशोक राईसहितका नेताहरूले निर्वाचन आयोगमा अर्को दल दर्ता गर्न निवेदन दिएका थिए । आयोगले उनीहरूको दल दर्ता गरिदिएको थियो । तर, यादवले आफ्नो दल छाडेका नेताहरूले दिएको निवेदनको आधारमा अर्को दल दर्ता गर्नु गैर कानुनी भएको जिकिर गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।
Facebook Comment
Comment