काठमाडौं । यो चुनावमा (सन् २०२४मा) भारतीय जनता पार्टीका नेता समेत रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले के सम्म गरेनन् ! ‘अबकी बार चार सय पार’ भन्ने नारा लगाउँदै आफ्नो दलको दुई तिहाई ४ सय सीट कटाउने लक्ष्य लिएर चुनावमा होमिएको उनको दल २४० सिटमै मा रोकियो ।
अब भाजपा एक्लैले सरकार बनाउन सक्ने अवस्था रहेन । किनकि सरकार बनाउन कम्तीमा २७२ सिट चाहिन्छ । ४ सय सिट कटाउने प्रचार गर्नुअघि भाजपाले पहिले जितेका ठाउँहरूमा अझै राम्रो गर्न सक्छौँ भन्ने अनुमान चुनावी नतिजामा फेल खायो । उत्तर प्रदेश र महाराष्ट्रमा उसले सोचेको जस्तो नतिजा आएन ।
वणारसीमा प्रधानमन्त्री नरेन्द्र मोदीले ठूलो अन्तरले जिते । तर, अयोध्यामा उनको दल भाजपाले नमज्जाले हार्यो ।
सन् २०१९ मा मोदीले जब दोस्रो पटक चुनाव जिते, उनको दलले २०१४ भन्दा धेरै सिट ल्यायो तर, उनी उत्कर्षमा पुगे । उनको पक्षमा जताततै प्रशंसा मात्र सुनिन थाल्यो । मोदी अचानक लोकप्रियतावादी शासक देखिन र सुनिन थाले ।
चुनाव अघिदेखि मोदीको छवि यस्तो निर्माण गरिएको थियो कि उनी अजेय हुन् । अटल, अमर र अविनाशी छन् । उनको कुनै विकल्प छैन । तर, लोकसभा चुनावी परिणामले मानिसहरूको भ्रम एक झट्कामा गायब भयो । सरकार बनाउन चाहिनेभन्दा ३२ सिट कम सीट आएको छ ।
परिणामलाई लिएर कतिपयले टिप्पणी गरेका छन् कि, ‘‘आजको समयमा विकल्पविहीन केही छ भने त्यो लोकतन्त्र हो, विधिविधान हो । तर, भारतीय लोकतन्त्रले साबित गरिदिएको छ कि मोदी वा अरू पनि कोही व्यक्ति विकल्पहीन हैनन् ।’’
अझ लोकसभा चुनावमा चकित पार्ने नतिजाले भारतको राजनीति अस्थिर बन्ने हो कि भन्ने आशंका पनि छ । एउटै दलको बहुमत आएन । किनभने सरकार बनाउनका लागि यसअघि भाजपाले अरू दलसँग सहयोग लिनुपरेको थिएन । अब अरूको सहयोग लिनुपर्ने छ । अरूले सहयोग नगरेमा अरुकै नेतृत्वमा सरकार बन्नसक्ने छ । मोदीका लागि जनमत सङ्ग्रहका रूपमा हेरिएको चुनावको नतिजाको अर्थ सत्ताको बागडोर अर्को पाँच वर्षका लागि हिन्दू राष्ट्रवादी बीजेपीको हातमा आउँछ नै भन्ने निश्चित छैन । यो त भयो, छिमेकी राष्ट्र भारतको राजनीति । तर, यसको प्रभाव नेपालमा कस्तो पर्छ भन्ने चर्चा छ ।
नेपालमा चासो, स्वाभाविक कि अस्वाभाविक ?
परिणाम आइसक्दा नयाँ सरकारको सम्बन्धमा नेपालमा व्यापक चासो व्यक्त भइरहेको छ । निर्वाचनको नतिजाले नेपाललाई पार्नसक्ने प्रभावका कारण भारतीय चुनावप्रतिको नेपालीहरूको चासोलाई विज्ञहरू स्वाभाविक मान्छन् । नेपाली मात्र होइन धेरै देशबाट समेत भारतको नयाँ सरकारले नेपाल र अरू छिमेकसँग सम्बन्ध कसरी राख्छ भनेर हेरिरहेका छन् ।
यो अवस्थामा भारतीय निर्वाचनप्रतिको नेपालीको चासोलाई कतिपयले स्वाभाविक रूपमै लिने गरेका छन् । पारम्परिक सम्बन्ध र खुला सीमाना लगायतका कारण उच्च चासो देखिएको ‘सेन्टर फर साउथ एसियन स्टडिज’का निर्देशक डा. निश्चलनाथ पाण्डे बताउँछन् ।
‘‘उदयमान अर्थतन्त्र बोकेको मुलुक भारतमा नयाँ प्रधानमन्त्री हुँदा दक्षिण एसिया र बाँकी विश्वमा प्रभाव पर्नेछ । खुला सीमा भएको नेपालमा प्रभाव नपर्ने कुरै छैन । नेपालका धेरै विकास निमार्णको परियोजनामा भारतीय लगानी र सहयोग छ । धेरै नेपाली भारतमै छन् । आयत र नियार्तको मुख्य बजार भारत नै हो । यसकारण नयाँ सरकारले लिने धेरै निर्णयमा नेपाललाई प्रभाव पर्छ । भारत सरकारले अघि बढाएका परराष्ट्र सम्बन्ध र छिमेकी देशहरूसँग सोझै नेपाल जोडिने भएकाले नेपालीहरूको भारतीय चुनावको नतिजामा चासो देखाएका हुन्’’, डा पाण्डेको विश्लेषण छ ।
कसको सरकार बन्दा के पर्छ प्रभाव ?
भारतीय दलहरूले चुनावअघि नै नेपाललाई प्रभाव पर्ने चुनावी मुद्दा उठाएका थिए । सत्तारूढ भारतीय जनता पार्टीले ‘छिमेक पहिलो’ विदेश नीतिलाई निरन्तरता दिने घोषणापत्रमा भनेको थियो । ‘मोदीकी ग्यारेन्टी’ नामक घोषणापत्रमा सोझै नेपालको चर्चा नगरिए पनि घुमाएर उल्लेख छ ।
उता विपक्षी कांग्रेस पार्टीले नेपालसँगको सम्बन्धमा अहिले लिइएका कतिपय नीतिलाई परिवर्तन गर्ने बताएको थियो ।
विपक्षी दलहरूले अहिलेको सरकारले सैन्य सेवाको पुनर्संरचनासहितको उद्देश्यले ल्याएको भनिएको ‘अग्निपथ’ योजना खारेज गर्ने घोषणा गरेका थिए । अन्य कतिपय दलहरूले भारतको अन्तर्राष्ट्रिय सीमाक्षेत्रमा पूर्वाधार विस्तार गर्ने वाचा गरेका थिए ।
राजनीतिक विश्लेषक सुरेन्द्र लाभ भन्छन्, ‘‘तेस्रो कार्यकाल मोदी सत्ताको नेतृत्वमा आएमा भारतीय जनता पार्टीले ‘ग्लोबल साउथ’ को भारतको अग्रणी हैसियतलाई अझ सुदृढ बनाउने वाचा अनुसार काम गर्ने छ । यसले दक्षिण एसियाको मुलुक नेपाललाई पनि लाभ पुग्ने विविध योजना आउन सक्छ ।’’
भारतमा अहिलेको चुनावमा मोदीलाई केन्द्रमा राखेर प्रचार गरिएको र भाजपाको भोट घटेर आएकाले नेपाललाई समेत पाठ सिकाएको विश्लेषक बताउँछन् । भाजपामा पार्टीभित्र समेत लोकतन्त्र कमजोर देखिएको अवस्थामा आएको चुनावी परिणामले नेपाललाई पनि प्रभाव पार्ने बताइन्छ ।
‘‘भारतसँग हाम्रो सीमा जोडिएको छ, धर्म संस्कृति त्यहाँको जस्तै छ । यसकारण भारतको चुनावले नेपालमा प्रभाव नपार्ने कुरै छैन । त्यहाँ २ धार थियो । भाजपा गठबन्धन र अर्को विपक्षी गठबन्धन थियो । भारतमा अहिलेको चुनावमा मोदीलाई केन्द्रमा राखेर प्रचार गरिएको थियो । अब यो चुनावले विगतको भन्दा कम मत आएको छ । यो भोट आउँदा दिनमा अझ घट्न सक्छ । यसले लोकतन्त्रमा व्यक्तिभन्दा दल केन्द्रमा हुनुपर्छ भन्ने नेपाललाई समेत पाठ सिकाएको छ’’ लाभ भन्छन् ।
भाजपा र मोदी कुनै हिन्दू धर्मप्रति लचक देखिएकाले यो चुनावमा त्यो मुद्दा जनता अनुमोदन नगरेपछि नेपालमा पनि हिन्दूधर्म पक्षधरहरू निराशा भएको उनको लाभको विश्लेषण छ ।
यद्यपी मोदीले रामजानकी विवाहसहितका कारणले अयोध्या र जनकपुरबीच विशेष धार्मिक सम्बन्ध रहेकोले नेपाल र भारतले ‘रामायण सर्किट’ विकासका लागि काम गर्ने बताउँदै आएका छन् ।
विश्लेषक लाभ भन्छन् ‘‘यदि भाजपा पुन सरकारमा आएमा ‘रामायण सर्टिक’ भन्न सक्छ । नेपालमा भारतबाट थप पर्यटक भित्रनेछन् । सम्बन्धमा देखिएको असहजता हल हुने छ । आर्थिक अवस्थामा थप सुधार हुनेछ । हालैका वर्षमा नेपाल र भारतले पेट्रोलियम पाइपलाइन, एकीकृत चेकपोस्ट र सीमा सडकजस्ता पूर्वाधारहरू सीमा क्षेत्रमा निर्माण गरेको पाइन्छ । यो क्रम थप अघि बढ्न सक्ने छ ।’’
चुनावमा विपक्षी कंग्रेस पार्टीले नेपालजस्ता निकटतम छिमेकीप्रति ‘अधिक ध्यान’ वाचा गरेकोले उनीहरूको सरकार बनेका नेपालमा थप सहयोग हुने कतिपयको अपेक्षा छ ।
कतिपय जानकार भन्छन्, ‘‘भारतमा भाजपाको सरकार आएपछि केही देशसँगको सम्बन्धमा उतारचढाव आएको छ । नेपाल र भुटानसँगको आफ्नो विशेष सम्बन्धको प्रधानतालाई कङ्ग्रेसले फेरि स्थापित गर्ने छ । त्यसलाई आफ्नो पारस्परिक लाभको लागि बलियो बनाउने छ ।’’
Facebook Comment
Comment