काठमाडौं । टी–२० विश्वकप क्रिकेटमा ‘ग्रुप अफ डेथ’ भनेर चिनिने समूह ‘डी’को पहिलो खेलमा आज मंगलबार हुँदैछ । डालासस्थित ग्रान्ड प्रेरी स्टेडियममा नेपाल र नेदरल्याण्ड्सबीचको खेल नेपाली समयअनुसार राति सवा ९ बजे सुरु हुनेछ ।
दक्षिण अफ्रिका, बंगालदेश र श्रीलंकाविरुद्धको खेलमा जित हासिल गर्नु अगाडि नेपाल र नेदरल्याण्ड्स भिड्दै छन् । यसकारण पनि दुवै राष्ट्र जित हासिल गरेर आफ्नो मनोबल उच्च गर्न चाहन्छन् ।
नेपाल र नेदरल्याण्ड्सबीचको पछिल्लो ११ खेलको नतिजालाई हेर्ने हो भने नेदरल्याण्ड्सले ६ खेल जित्दा नेपालले भने ५ खेल आफ्नो पक्षमा पारेको छ ।
दुवै राष्ट्रको पछिल्लो टी–२० खेलको समग्र नतिजालाई हेर्ने हो भने, नेदरल्याण्ड्सले अन्तिम २ खेल जित्दा सुरुवाती ३ खेलमा पराजित भयो । नेपालले भने सुरुवाती २ खेलमा पराजित हुँदा अन्तिम ३ खेलमा जित हासिल गरेको छ ।
विश्वकपमा नेदरल्याण्ड्सको यो सातौँ सहभागिता हो । जबकी नेपाल दोस्रो पटक सहभागी भएको हो । सन् २०१४ मा नेपालले ३ मध्ये १ खेल गुमाएर केवल नेट रन रेटमा पछि पर्दै सुपर-१० को यात्रा तय गर्न सकेको थिएन ।
माइकल लेविट र दीपेन्द्र सिंह ऐरी खेलको ‘स्पटलाइट’मा
गत वर्ष १९ वर्षीय माइकल लेविटले नेदरल्याण्ड्सको क्रिकेट टोलीमा आफ्नो स्थान सुरक्षित गरे । फेब्रअरीमा डेब्यू गरेका माइकल छोटो समयमा नै टोलीको टप अर्डर खेलाडी बन्न सफल भएका छन् ।
दक्षिण अफ्रिकामा जन्मिएका माइकल ८ टी–२० खेलमा ३९४ रन जोडि सकेका छन् । उनको स्ट्राइक रेट १५६.५० रहेका छन् । आफ्नो दोस्रो खेलमा नै नामिबियाविरुद्ध उनले आफ्नो उच्च स्कोर बनाउन सफल भए । उनले केवल ६२ बलमा १३५ रनको बनाए । विश्वकपको वर्मअप खेलमा पनि श्रीलंकाविरुद्ध उनले केवल २८ बलमा ५५ रन बनाए ।
यता, नेपालका दीपेन्द्र सिंह ऐरीको मङ्गोलियाविरुद्धको दुलर्भ कीर्तिमान उनको पहिचान बनेको छ । उनले एसियन गेम्समा मङगोलियाविरुद्ध केवल ९ बलमा अर्धशतक पूरा गर्दै सबैभन्दा छिटो अर्धशतक बनाउने क्रिकेटर बने । साथै बलिया राष्ट्रविरुद्ध पनि दीपेन्द्रको गुणस्तरीय प्रदर्शन देखिएको छ । उनको क्षमताबारे नेदरल्याण्ड्स पनि अवगत छन् ।
गत फेब्रुअरीमा त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेदरल्याण्ड्सविरुद्ध दीपेन्द्रले विष्फोटक प्रदर्शन गरेका थिए । १८५ रनको लक्ष्यमा जवाफी ब्याटिङ गर्दा दीपेन्द्रले ३४ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै ६३ रनको योगदान गरेका थिए ।
१८५ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको नेपालले पूरै ओभर खेलेर ८ विकेटको क्षतिमा १८२ रन बनायो । नेपाल २ रनले पराजित भए पनि दीपेन्द्रले नेपाली ब्याटिङको साख जोगाएका थिए ।
पिच र मौसम
डालसमा भएको उद्घाटन खेलमा अमेरिका र क्यानडाले प्रतिस्पर्धा गरेको थियो । सो खेलमा १९५ रनको लक्ष्य पछ्याउँदै अमेरिकाले प्रतियोगितामा सुखद् सुरुवात गरेको थियो । अमेरिकालाई जिताउन आरोन जोन्सले अविजित रहँदै ४० बलमा ९४ रनको योगदान गरेका थिए । त्यस्तै अवस्था रहेमा योगफल उच्च हुन सक्ने अनुमान गर्न सकिन्छ ।
तथापि, खेलको समयमा वर्षा हुन सक्ने सम्भावना पनि रहेको छ । डालसमा आँधी तथा वर्षाको सम्भावना देखिएको छ । खेल वर्षाका कारण प्रभावित हुन सक्ने पनि अनुमान गरिएको छ ।
Facebook Comment
Comment