काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले मातहतका कर्मचारीको व्यवहार देखेर आफूलाई दिक्क लाग्ने गरेको गुनासो गरेकी छन् ।
मन्त्री साहले कर्मचारीहरुबीच एकले अर्कालाई आक्षेप मात्रै लगाउने गरेको पाइएको उल्लेख गर्दै त्यसो नगर्न पनि सचेत गराईन् । विश्व खाद्य स्वच्छता दिवसका अवसरमा उनले मन्त्रालयलाई नमूनायोग्य मन्त्रालयको रुपमा विकास गर्नेगरी काम गर्न पनि मातहतका कर्मचारीलाई निर्देशन दिईन् ।
कुनै बद्नामी नहुने गरी कर्मचारीहरुले काम गर्नुपर्ने मन्त्री साहको भनाई थियो । उनले कर्मचारीहरुले आफू कार्यरत निकायमा बदनामी हुने खालको कुनैपनि गतिविधि गर्न नहुने बताईन् ।
मन्त्री साहले भनिन्, ‘हाम्रो खाद्य प्रविधि गुण नियन्त्रण विभाग छ । यसको बदनामी नआओस् । यसमा आक्षेप नलागोस । हाम्रो विभाग एउटा नमूना विभाग हो । हाम्रो मन्त्रालय एउटा नमूना मन्त्रालय हो । त्यो खालको सन्देश हामीले दिनु पर्छ ।’
मन्त्री साहले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आफ्नो परीक्षणको कामलाई प्रभावकारी बनाउनुपर्ने बताईन् । सो अवसरमा मन्त्री साहले नेपाल फुड एण्ड फिड इण्डस्ट्री लाइसेन्सिङ सिस्टम (एनइएफएफआईएलएस) सफ्टवेयरको शुभारम्भ समेत गरिन् ।
Facebook Comment
Comment