काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीको कमजोरीका कारण क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा नदिएको आरोपको अध्यक्ष चतुरबहादुर चन्दले खण्डन गरेका छन् ।
१५ सदस्यीय स्क्वाडमा लामिछानेलाई समावेश नगरेका कारण अमेरिकाले भिसा नदिएको भन्दै सामाजिक सञ्जालमा आलोचना हुन थालेपछि अध्यक्ष चन्दले आरोपको खण्डन गरेका हुन् ।
चन्दले पनि सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै सन्दीपले सफाइ पाएलगत्तै आइसीसीसँग समन्वय गरेर उनलाई सक्वाडमा समावेश गराएको दाबी गरेका छन् ।
सन्दीपलाई विश्वकपका लागि भिसा दिन आईसीसीले पठाएको पत्र समेत उनले सार्वजनिक गरेका छन् ।
चन्दले सन्दीपलाई टीममै नराखिएको भन्ने कुरामा सत्यता नरहेको बताएका छन् ।
अमेरिकी दुतावासले दोस्रो पटक पनि भिसा अस्वीकृत गरेपछि लामिछानेका प्रशंसक भने आक्रोशित भएका छन् ।
सामाजिक सञ्जालमा क्यान पदाधिकारीमाथि नै प्रश्न उठेपछि अध्यक्ष चन्दले झुठो र अनुमानका आधारमा तथ्यहिन कुरा गरेर क्रिकेटप्रेमीलाई भ्रममा नपार्न आग्रह गरेका छन् ।


Facebook Comment
Comment