काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको पेशी आजका लागि तोकिएको छ । गृहमन्त्री लामिछानेविरुद्ध दायर रिटमा आज सुनुवाइ हुने भएको छ ।
सहकारी प्रकरणमा मुछिएको भन्दै लामिछानेलाई निलम्बन गर्नुपर्नेसहितको माग राखिएको रिट सोमबार सर्वोच्चमा दर्ता भएको थियो । रिटमा गृहमन्त्री लामिछाने, महान्यायाधिवक्ताको कार्यालय र महान्यायाधिवक्ता दीनमणि पोखरेललाई विपक्षी बनाइएको छ ।
रिटमा रविमाथि सहकारी ठगीमा कुनै अभियोग नभएको भन्दै महान्यायाधिवक्ता कार्यालयले दिएको पत्र खारेजीको मागसमेत गरिएको छ ।
यसअघि सर्वोच्च प्रशासनले दरपीठ गरिदिएको रिट दर्ता गर्न न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले आदेश दिएको थियो ।
सोही आदेशबमोजिम सोमबार रिट दर्ता भएको थियो । लामिछाने पदमा रहिरहँदा सहकारी ठगी प्रकरणको छानबिनमा स्वार्थ बाझिने रिटमा जिकिर गरिएको छ ।
Facebook Comment
Comment