जनकपुरधाम। धनुषामा स्रोत नखुलेको ३८ लाख ३५ हजार रुपैयाँसहित एक युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा धनुषाको लक्ष्मीनिया गाउँपालिका वडा नं. १ सिनुरजोडा बस्ने २३ वर्षीय अमित कुमार यादव रहेका प्रहरीले जनाएको छ।
बिहीबार दिउँसो १२ः५० बजेको समयमा भारतबाट नेपाल भित्रिरहेको अवस्थामा धनुषाको नगराइन नगरपालिका-२ स्थितबाट यादवलाई स्रोत नखुलेको रकमसहित समातिएको सशस्त्र प्रहरी प्रदेश २ का प्रमुख डीआईजी गणेश ठाडाले जानकारी दिए।
प्रदेश २-०२-०० १ प ०४८०८ नम्बरको मोटरसाइकलको ट्यांकीभित्र लुकाएर ल्याउँदै गरेको नगद विशेष सुराकीका आधारमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
ट्यांकीभित्र चेकजाँच गर्दा यादवसँग स्रोत नखुलेको ३८ लाख ३५ हजार रुपैयाँ बरामद भएको डीआईजी ठाडाले बताए। पक्राउ परेका यादवमाथि थप अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाउने तयारी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।
उनी हुण्डीकारोबारी हुन सक्ने प्रहरीको आशंका छ।
Facebook Comment
Comment