पूर्वराजदूत राणाप्रति प्रधानमन्त्रीद्वारा श्रद्धाञ्जलि व्यक्त

नेपालभ्युज

पूर्वराजदूत राणाप्रति प्रधानमन्त्रीद्वारा श्रद्धाञ्जलि व्यक्त

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले गएराति निधन भएका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्वसदस्यसचिव एवं पूर्वराजदूत रुक्मशम्शेर राणाप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन्।

नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवाले बत्तीसपुतलीस्थित स्वर्गीय राणाको निवास पुगेर उनको पार्थिव शरीरमा माल्यार्पण गरी पार्टीको चारतारे झण्डा ओडाएर श्रद्धासुमन व्यक्त गरे। राणाको गएराति ८५ वर्षको उमेरमा निधन भएको थियो। उनको आजै पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिने परिवारले जनाएको छ।

राणालाई श्रद्धाञ्जलि दिन कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु प्रकाशमान सिंह, शेखर कोइराला, डा मीनेन्द्र रिजाल, डा प्रकाशशरण महत, उदयशमशेर राणालगायत निवासमै पुगेका थिए।

राणा मिर्गौला, मधुमेह र उच्च रक्तचापबाट पीडित थिए। मिर्गौला प्रत्यारोपणपछि उनी नियमितरूपमा डायलायसिस गर्दै आएका थिए। गएराति एक्कासी स्वास्थ्यमा खराबी आएपछि घरमै चिकित्सक र एम्बुलेन्स बोलाइए पनि अस्पताल लैजान नपाउँदै राणाको निधन भएको थियो । स्व. राणाका एक श्रीमती र एक छोरी छन् ।

राणाले राखेपको दुई पटक सदस्यसचिवका रूपमा भूमिका निर्वाह गरेका थिए। पहिलोपटक विसं २०५० देखि २०५१ सम्म तथा दोस्रोपटक विसं २०५४ देखि २०५५ सम्म राणा राखेपको सदस्यसचिव रहेका थिए।

राणा विसं २०५९ मा नेपाल ओलम्पिक कमिटी (एनओसी)को अध्यक्षसमेत बनेका थिए। एनओसीले पछिल्लो समय राणालाई सम्मानस्वरुप मानार्थ अध्यक्ष बनाएको थियो ।

राणाले अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यवाहक अध्यक्षका रूपमा समेत भूमिका निर्वाह गरेका थिए। यस्तै, नेपाल तेक्वान्दो संघ र नेपाल एथलेटिक्स संघको समेत अध्यक्ष रहेका थिए।

कांग्रेसका संस्थापक नेता सुवर्णशम्शेर राणाका कान्छा छोरा राणा कांग्रेस नेतृत्वको सरकारको पालामा सन् २००९ देखि सन् २०११ सम्म भारतका लागि नेपाली राजदूतसमेत रहेका थिए। राणा भारतीय संयुक्त लगानीमा स्थापित डाबर नेपालका साझेदार एवं प्रबन्ध निर्देशकसमेत थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved