केजरीवालको आरोप कति सत्य : के अमित शाह हुनेछन् भारतको प्रधानमन्त्री ?

भाजपामा मोदीपछि प्रधानमन्त्रीका लागि मुख्य दुई दाबेदार देखिन्छन् । उपप्रधानमन्त्री तथा गृहमन्त्री अमित शाह र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ ।

केजरीवालको आरोप कति सत्य : के अमित शाह हुनेछन् भारतको प्रधानमन्त्री ?

भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतको जमानतपछि जेलबाट छुटेका दिल्लीका मुख्यमन्त्री तथा आम आदमी पार्टी (आप) का नेता अरविन्द केजरीवालले प्रधानमन्त्री नरेन्द्र मोदी तथा सत्तारुढ भारतीय जनता पार्टीविरुद्धको चुनावी अभियानलाई तीव्रता दिएका छन् ।

यस क्रममा उनले उठाइरहेका प्रमुख मुद्दामध्ये एक हो— भाजपाको भावी प्रधानमन्त्री को हो ? उनको तर्क छ कि यो चुनाव भाजपा प्रधानमन्त्री नरेन्द्र मोदीको नाममा लड्दैछ तर, चुनावपछि अमित शाह प्रधानमन्त्री हुनेछन् ।

जेलबाहिर आएपछिको पहिलो भाषणमै मुख्यमन्त्री केजरीवालले भनेका थिए— आगामी वर्षको सेप्टेम्बर १७ मा मोदी ७५ वर्ष पुग्दैछन् । ७५ वर्ष पुगेपछि रिटायर्ड हुने भाजपाको नीति छ । यो नीति स्वयम् मोदीले सन् २०१४ मा बनाएका थिए । यही कारणले आड्बानीजी प्रधानमन्त्री हुन पाएनन् । आडबानीपछि मुरलीमनोहर जोशी, सुमित्रा महाजन, यसवन्त सिन्हालाई बाहिर निकालियो । यो नियम आड्वानीलाई मात्र लागू हुन्छ कि मोदीलाई पनि लागू हुन्छ ?

केजरीवालले अगाडि भने— त्यसोभए म सोध्न चाहन्छु, भाजपाको प्रधानमन्त्री को हो ? अमित शाह । मोदी आफ्ना लागि हैन अमित शाहलाई प्रधानमन्त्री बनाउन भोट मागिरहेका छन् । अनि मोदीको ग्यारेन्टी कसले पूरा गर्छ ? के अमित शाहले मोदीको ग्यारेन्टी पूरा गर्दछन् ? ज-जसले भाजपालाई भोट दिँदै हुनुहुन्छ, यो बुझ्नुहोला कि तपाईं मोदीको नाममा हैन, अमित शाहको नाममा भोट दिँदै हुनुहुन्छ ।

केजरीवाल जेलबाट छुट्नुअघि यो मुद्दा अरु विपक्षी दलले उठाएका थिएनन् । चौथो चरणको मतदान भइसक्दा भने यो सवाल चुनावी अभियानमा व्यापक बहसमा छ ।

मोदी सन् १९५० सेप्टेम्बर १७ मा जन्मिएका हुन् । ७५ वर्ष कटेका नेतालाई सक्रिय राजनीतिबाट ‘पार्टी मार्गदर्शक मण्डल’ मा पठाउने प्रचलन भाजपामा स्थापित छ ।

अटलबिहारी बाजपेयी र लालकृष्ण आड्वानी भाजपाका संस्थापक र विकासकालका महत्त्वपूर्ण नेता हुन् । आड्वानी ३ पटक गरी करिब १५ वर्ष भाजपाको अध्यक्ष भए । बाजपेयीको शासनकालमा उनी उपप्रधानमन्त्री तथा केन्द्रीय गृहमन्त्री रहे । जीवनमा एकपटक प्रधानमन्त्री हुने उनको आकाङ्क्षा पनि थियो ।

तर, सन् २०१४ को चुनावी अभियान र त्यसपछिका घटनाक्रममा उनको पकड कमजोर देखियो । चुनावअघि नै नरेन्द्र मोदीलाई भावी प्रधानमन्त्री घोषणा गरिएको थियो ।

मोदी गुजरातको मुख्यमन्त्री थिए । भनिन्छ, सन् २००२ को दङ्गापछि पार्टी नेता अटलबिहारी बाजपेयी मोदीलाई मुख्यमन्त्रीबाट हटाउन चाहन्थे । तर, आड्वानीले नै बाजपेयीलाई यस्तो निर्णय गर्नबाट रोकेका थिए ।

मोदीको उदयको आधार त्यहीबाट भएको मानिन्छ । सन् २०१३ को जुलाई ९ मा भाजपा केन्द्रीय कार्यकारी समितिको बैठक गोवामा भएको थियो । स्वास्थ्यको कारण देखाएर आड्वानी बैठकमा सामेल भएनन् ।

उता एक समूहले भने नयाँ नेताका रूपमा मोदीलाई अघि बढाउन दबाब दिइरह्यो । मोदीको ‘गुजरात मोडेल’ र लोकप्रियता पार्टीले इतिहासमै पहिलो बहुमत हासिल गर्न सहयोगी हुने तिनको दबाब थियो । पार्टीको मातृसंस्था आरएसएसले पनि मोदीलाई अघि बढाउन दबाब दियो ।

पार्टी सभापति थिए, राजनाथ सिंह । उनले यो बैठकबाट मोदीलाई ‘मुख्य प्रचारक’ को जिम्मेवारी दिए । लालकृष्ण आड्वानी अनुपस्थित बैठकबाट मोदीलाई भावी प्रधानमन्त्री घोषणा गर्ने आँट उनले गरेनन् । तर, त्यसपछिका दिनमा पनि आड्वानी बैठकहरूमा अनुपस्थित रहे । सन् २०१३ सेप्टेम्बर १३ को पार्टी संसदीय बोर्डको बैठकले भने मोदीलाई भावी प्रधानमन्त्रीको रूपमा घोषणा गर्‍यो ।

आड्वानी भाजपाका एक त्यस्ता वरिष्ठ संस्थापक नेता थिए, जो भारतको प्रधानमन्त्री नहुनुलाई स्वयम् देशको इतिहासमै एक रिक्तता र अधुरोपनको अनुभूति गरिन्छ । तर, त्यसको कारण भने उनको उमेर र भाजपाको ७५ वर्षे नीति थियो । केजरीवालले ठीकै प्रश्न उठाएका हुन्, जुन नियमले आड्वानीजस्ता एक महान् हस्तीलाई प्रधानमन्त्री हुन रोक्यो र मोदीका लागि सम्भावनाको ढोका खोल्यो, त्यो नियम स्वयम् मोदीका लागि लागू हुन्छ कि हुँदैन ?

यदि यो नियम लागू हुने हो भने भावी प्रधानमन्त्री को हो भन्ने प्रश्न स्वाभाविक हो । भाजपामा मोदीपछि प्रधानमन्त्रीका लागि मुख्य दुई दाबेदार देखिन्छन् । उपप्रधानमन्त्री तथा गृहमन्त्री अमित शाह र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ ।

मोदीको छनोटमा अमित शाह पर्नु स्वाभाविक छ । मोदी-शाह जोडी गुजरातदेखिकै हो । मोदी मुख्यमन्त्री हुँदा शाह गुजरातको गृहमन्त्री थिए । सानो उमेरमै मोदीले शाहलाई राजनीतिमा अघि बढाएका थिए । उनी ३३ वर्षको उमेरमा पहिलोपटक विधानसभा सदस्य निर्वाचित भएका थिए भने गृहमन्त्री हुँदा जम्मा ३८ वर्षका थिए । सन् २०१४ मा पार्टी अध्यक्ष हुँदा उनी ५० वर्षका मात्र थिए ।

राष्ट्रिय राजनीतिमा शाहको उदय सन् २०१४ को चुनावबाट भएको हो । यो चुनावमा उनी आफैँ भने उम्मेदवार थिएनन् । तर, सबैभन्दा धेरै लोकसभा सिट भएको उत्तर प्रदेश पार्टी प्रभारी थिए । प्रदेशका ८० मध्ये ७३ सिट भाजपाले जितेको थियो ।

भाजपा नेतृत्वमा मोदी-शाहको जोडी एक दुर्लभ मानिन्छ । चर्चित नायिका तथा भाजपा सांसद हेमा मालिनीले उनीहरूको जोडीलाई ‘शोले’ सिनेमाको ‘जय-बीरु’ जोडीसँग तुलना गरेकी थिइन् ।

भाजपा इतिहासमा ‘जोडा’ नेतृत्व प्रणाली ऐतिहासिक रूपमा स्थापित छ । भारतीय जनसङ्घको अवधिमा ‘श्यामप्रसाद मुखर्जी-दिनदयाल उपाध्याय’ यस्तै जोडा थिए । भाजपा स्थापना र विस्तारकालमा ‘बाजपेयी-आड्वानी’ जोडा उस्तै निर्णायक रह्यो ।

मोदीले राजनीतिक सन्यास लिए अमित शाह प्रधानमन्त्री हुनु अस्वाभाविक हुने छैन । उमेर र अनुभव दुवै दृष्टिकोणले उनी उपयुक्त हुनेछन् । ४० वर्षभन्दा बढी समयदेखि मोदी-शाह सम्बन्ध निरन्तर र समस्यारहित देखिन्छ ।

शाह मोदीभन्दा बढी कट्टरपन्थी नेता मानिन्छन् । हिन्दुत्वको राजनीति र एजेण्डाप्रति शाहमा ठूलो विश्वास र भक्ति देखिन्छ । कदाचित शाह प्रधानमन्त्री हुन नसके अर्को विकल्प भने उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई मानिएको छ । पार्टी अध्यक्ष जेपी नड्डा भने प्रधानमन्त्री पदका लागि चर्चामा छैनन् । उनी राज्यसभा सदस्य छन्, लोकसभा निर्वाचनमा उम्मेदवारसमेत छैनन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved