सरकारी तथ्यांकमा महँगी घट्यो, उपभोक्ता भने चर्को भाउ तिर्न बाध्य

नेपालभ्युज

सरकारी तथ्यांकमा महँगी घट्यो, उपभोक्ता भने चर्को भाउ तिर्न बाध्य

काठमाडौं । सरकारी तथ्यांकले महँगी आधाले घटेको देखाएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को चैत महिनामा सेवा र वस्तुको महँगी घटेको तथ्य सार्वजनिक भएको हो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदन अनुसार गत आव २०७९/८० को चैत महिनाको तुलनामा चालु आवको चैत महिनामा वस्तु र सेवाको महँगी झन्डै आधाले घटेको हो । तथ्यांकले महँगी घटेको देखाएपनि सर्वसाधारणको दैनिकी भने सस्तिएको छैन ।

नेपाल खुद्रा व्यापार संघका अनुसार गएको एक वर्षको अवधिमा सबैजसो उपभोग्य वस्तुको भाउ औसतमा २० प्रतिशत महँगिएको छ । सबैभन्दा बढी दैनिक उपभोग्य वस्तु चामल, दलहनजन्य वस्तुको भाउ उच्च महँगो छ ।

संघका अनुसार यो अवधिमा चनाको दाल प्रतिकेजी १२५ रुपैयाँबाट महँगिएर १४० रुपियाँको छ भने रहरको दाल प्रतिकेजी २०५ रुपैयाँबाट महँगिएर तीन सय रुपैयाँ पुगेको छ । केन्द्रीय बैंकको तथ्यांकमा बजार महँगी घटेको देखाए पनि आमउपभोक्ताले भने बजार भाउ घटेको अनुभूति गर्न पाएका छैनन् ।

संघका वरिष्ठ उपाध्यक्ष नरेश शाहीले एक वर्षयताका हरेक उपभोग्य वस्तुको मूल्य विश्लेषण गरेर हेर्दा कुनै १० देखि ५० प्रतिशतसम्म महँगिए पनि औसतमा २० प्रतिशत महँगो भएको बताए । राष्ट्र बैंकले पनि बजार भाउ र राष्ट्र बैंकको तथ्यांकमा फरक हुने स्वीकार गरेको छ ।

बैंकका प्रवक्ता गुणाकर भट्टले राष्ट्र बैंकले उपभोक्तासँग सम्बन्धित चार सय बढी वस्तु र सेवालाई एउटै डालोमा राखेर विश्लेषण गरेर सार्वजनिक हुने तथ्यांकमा बजार भाउसँग ठ्याकै नमिल्नु स्वाभाविक भएको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved