काठमाडौं । नेकपा माओवादी (केन्द्र) ले केन्द्रीय सदस्य प्रदेशगत हिसाबमा विभाजन गरेको छ। कुल २ सय ९९ केन्द्रीय सदस्यमध्य ४३ सदस्यको स्थान खाली राखेर बाँकी सदस्यलाई प्रदेशगत हिसाबमा विभाजन गर्ने तयारी भएको हो। निर्वाचन प्रर्दशनीमार्ग स्थित भृकुटीमण्डपमा आयोजना गर्ने तयारी पार्टीले गरेको छ।
केन्द्रीय सदस्यका लागि प्रदेश १ बाट ४१ सदस्य, प्रदेश २ बाट २५ केन्द्रीय सदस्य चयन गर्ने तयारीमा पार्टी लागेको हो। यस्तै बागमती प्रदेशबाट ५१ जना केन्द्रीय सदस्य छान्ने तयारीमा रहेको पार्टीले गण्डकी प्रदेशबाट २४ र लुम्बिनी प्रदेशबाट ४० केन्द्रीय सदस्य चयन गर्ने तयारी गरेको छ। कर्णाली प्रदेशबाट २९ र सुदूरपश्चिम प्रदेशबाट ३१ केन्द्रीय सदस्य चयन गर्ने तयारी पार्टीले गरेको छ। विशेष सम्पर्क प्रवासबाट १४ केन्द्रीय सदस्य चयन गर्ने पार्टीले जारी गरेको सूचीमा उल्लेख गरिएको छ।
प्रस्तावित नाममा सहमति जुट्न नसकेको अवस्थामा भने निर्वाचन प्रक्रियामा जाने तयारी पार्टीले गरेको छ। सबै क्षेत्रलाई प्रतिनिधित्व गर्न पनि सहमतिका आधारमा केन्द्रीय सदस्य चयन गर्नुपर्ने अध्यक्ष पुष्पकमल दाहालले बताउँदै आएका छन्। यद्यपि, अध्यक्षको प्रस्तावमा भने सहमति जुट्न सकेको छैन।
पार्टीको आठौँ महाधिवेशन चल्दै गर्दा स्थायी समितिको तेस्रो चौथो बैठक बसेको हो। स्थायी समितिको बैठक सकिएलगत्तै बन्दसत्र शुरु गर्ने कार्यक्रम छ। पार्टीको आज बस्ने बन्दसत्रले आगामी कार्यकालका लागि रहने केन्द्रीय सदस्यको सूची घोषणा गर्ने तयारी छ।
माओवादीमा केन्द्रीय समितिको सदस्य चयन प्रक्रिया अप्ठेरो अवस्थामा छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहमतिमा नाम सार्वजनिक गर्ने प्रयासमा रहँदै गर्दा पार्टीभित्र सहमति जुट्न सकेको छैन।
आज बस्ने बन्दसत्रले सहमतिमा केन्द्रीय सदस्यको नाम सार्वजनिक गर्न नसकेको अवस्थामा निर्वाचनमा जाने तयारी पार्टीले गरेको छ। पार्टीको निर्वाचन आयोगले १६ पुसमा नै निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ। सार्वजनिक निर्वाचन कार्यतालिका अनुसार आज दिउँसो २ बजेपछि उम्मेदवारी दर्ता गर्ने कार्यक्रम तय भएको छ।
Facebook Comment
Comment