कोशी सरकार जोगाउने विषयमा मुख्यमन्त्री कार्कीसँग सभापति देउवाको छलफल

नेपालभ्युज

कोशी सरकार जोगाउने विषयमा मुख्यमन्त्री कार्कीसँग सभापति देउवाको छलफल

काठमाडौं । सत्ता समिकरण फेरिएसँगै संकटमा परेको प्रदेश सरकार जोगाउन नेपाली कांग्रेसले आन्तरिक छलफल सुरु गरेको छ । कांग्रेसले आफ्नो नेतृत्वमा रहेका प्रदेश सरकारलाई भरसक गुम्न नदिनेगरि छलफल थालेको हो ।

सोही क्रममा बिहीबार बिहान पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा कोसी प्रदेश सरकार जोगाउने विषयमा छलफल भएको छ । सभापति देउवाले उपसभापति, महामन्त्री, प्रमुख सचेतक रमेश लेखक र कोसी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीसँग छलफल गरेका हुन् ।

नयाँ सत्ता गठबन्धन बनेसँगै कोशी प्रदेश सरकारमा परेको संकटबारे नेपाली कांग्रेसले आन्तरिक छलफल थालेको हो । बिहान भएको छलफल कोशी प्रदेश सरकारको सन्दर्भमा के गर्ने भन्ने विषयमा केन्द्रित रहेको मुख्यमन्त्री कार्कीले बताए ।

९३ सदस्यीय कोशी प्रदेशसभामा सरकार बनाउन ४७ सांसद आवश्यक पर्छ । नयाँ सत्ता गठबन्धनमा रहेका एमालेसँग कोशी प्रदेशसभामा ४० सांसद, माओवादीसँग १३, एकीकृत समाजवादीसँग ४ र जसपासँग १ गरी जम्मा ५८ सांसद छन् ।

त्यसैले कोशीमा एमाले–माओवादीसहितको गठबन्धनको सरकार सहजै बन्ने देखिन्छ ।

कोशी प्रदेशसभामा कांग्रेससँग २९ र राप्रपाका ६ गरी जम्मा ३५ सांसद छन् ।
सरकार गठनको अन्तिम विकल्प संविधानको धारा १६८ (५) अनुसार केदार कार्की २७ असोजमा कांग्रेसका ८ र नेकपा एमालेका ३९ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए ।

गणितीय रुपमा कार्की संकटमा परे पनि कार्कीको विकल्पमा अर्को सरकार बन्ने संवैधानिक र कानुनी आधार नदेखिएको कतिपयले बताउदै आएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved