काठमाडौं । प्रहरीले दुई चिनियाँलाई नेपाली नागरिकता दिलाएको आरोपमा एक जना अधिकृतलाई पक्राउ गरेको छ ।
बागमती प्रदेशसभा सचिवालयमा कार्यरत छैठौं तहका अधिकृत रामचन्द्र अर्याललाई पक्राउ गरिएको मकवानपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी) लक्ष्मी भण्डारीले जानकारी दिए ।
उनलाई प्रदेशसभा सचिवालयबाटै पक्राउ गरि काभ्रे प्रहरीको जिम्मा लगाएको हो । चिनियाँ नागरिकलाई नागरिकता दिलाउँदा अर्याल नासु थिए ।
अर्यालमाथि काभ्रे जिल्ला प्रशासनमा रहँदा सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका ती चिनियाँ नागरिकलाई नागरिकता दिलाएको आरोप छ ।
काभ्रे प्रशासनबाट २० पुस २०७४ मा तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङ र चिनियाँ नागरिक दावाजिन वाङलाई वंशजका आधारमा नागरिकता जारी भएको थियो ।
दावा र दावाजिन सुन तस्करीको आरोपमा पक्राउ परेका छन् । तस्करीको अनुसन्धानका क्रममा उनीहरुले नेपाली नागरिकता लिएको खुलेको थियो ।
दावाले निमा तामाङका नाममा र वाङले पासाङ तामाङका नाममा नागरिकता लिएका थिए । नागरिकता सनाखत गराउने रामचन्द्र अर्याल र जारी गर्नेमा झपेन्द्रराज खरेल रहेको आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।
Facebook Comment
Comment