एजेन्सी। रुसको एक अदालतले गुुगलमाथि ९ करोड ८० लाख डलर जरिवाना गर्ने फैसला सुनाएको छ। आफ्नो देशमा अवैध मानिएका सामाग्रीहरु हटाउनुपर्ने माग यसअघि रुस सरकारले गुुगलसँग गरेको थियो।
रुसले गुगलमात्रै नभएर धेरै सामाजिक सञ्जाल प्लेटफर्महरुमाथि यस्ता आरोप लगाइसकेको छ। गुगल, फेसबुक, इन्टाग्राम र ट्वीटरविरुद्ध ६ सय वटा पोस्टहरुलाई लिएर अदालती कारबाही चलिरहेको छ। ती पोस्टहरूमध्ये नौवटा बाल यौन वा ड्रग्स र १२ वटा आत्महत्यासँग सम्बन्धित रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीले जनाएको छ।
बीबीसीका अनुसार त्यस्ता पोस्टहरुमाथि रुस सरकारको सबैभन्दा धेरै आपत्ति छ, जसमा विपक्षी नेता एलेक्जाई नाभाल्नीको समर्थनमा हुने प्रदर्शनमा सहभागी हुन अपिल गरिएको थियो।
राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ताले सोशल मिडिया कम्पनीहरूविरुद्ध कारबाही गर्नुलाई सेन्सरसिप मान्न नमिल्ने बताएका छन्। उनले यसलाई रुसमा कानून लागु गर्ने एक प्रयासका रुपमा हेरिनुपर्ने बताए।
रुसमा सामाजिक सञ्जाल कम्पनीहरू २०१५ यता दबाबमा छन्। त्यतिबेला सामाजिक सञ्जाल प्रयोग गर्ने रुसी जनताका निजी डाटा रुसमै स्टोर गर्नुपर्ने बाध्यकारी कानून बनाइएको थियो। सरकारलाई कम्पनीहरूमाथि जरिवाना लगाउने वा उनीहरूलाई बन्द गर्ने अधिकार थियो।
तर, कुनै पनि पश्चिमा सामाजिक सञ्जालले यस कानूनको पालना गरेनन्। जसकारण, २०१६ मा लिंकदेनले आफ्नो सेवा बन्द गर्नुपर्यो। गुगल, मेटा र ट्वीटरमाथि २०२० को शुरुवातदेखि कुल ६ लाख डलरभन्दा धेरै जरिवाना लागिसकेको छ।
Facebook Comment
Comment