काठमाडौं। झापा गोल्डकप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ।
बुधबार झापा गोल्डकपको खेलतालिका सार्वजनिक गरिएको हो। प्रतियोगितामा विभागीय ३ क्लब नेपाल पुलिस, त्रिभुवन आर्मी र एपीएफ तथा ए डिभिजनसहित कुल १० टोलीबीच प्रतिस्पर्धा हुनेछ।
फागुन १९ गते हुने उद्घाटन खेलमा एपीएफ फुबटल क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ। सो खेलको विजेताले पहिलो क्वार्टरफाइनलमा सर्लाहीको बागमती युवा क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
क्वार्टरफाइनलमा पुग्न फागुन २० गते हुने खेलमा चर्च ब्वाईज यूनाईटेड र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ। सो खेलको विजेताले फागुन २२ गते न्यूरोड टिम एनआरटीसँग दोस्रो क्वार्टरफाइनल खेलमा खेल्नेछ।
फागुन २३ मा हुने तेस्रो क्वार्टरफाइनलमा मछिन्द्र एफसी र त्रिभुवन आर्मी फुटबल क्लब आमने सामने हुनेछन्। फागुन २४ मा हुने अन्तिम क्वार्टरफाइनल खेलमा झापा ११ एफसी र एन्फा मकवानुपुरबीच प्रतिस्पर्धा हुनेछ। सो खेलको विजेताले सेमिफाइनलमा स्थान पक्का गर्नेछ।
गोल्डकपको विजतेताले १३ लाख रुपैयाँसहित ट्रफी पाउने छन्। प्रतियोगिता फागुन १९–२८ गतेसम्म डोमालाल राजवंशी रंगाशालामा संचालन गरिनेछ। प्रतियोगितामा १ करोड ४० लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ।
Facebook Comment
Comment