काठमाडौं । चालु आर्थिक वर्षको छ महिनाको अवधिमा कर्तव्य ज्यान मुद्दामा संलग्न पाँच सय २९ जनामध्ये चार सय छ जना पक्राउ परेका छन् ।
तीमध्ये पुरुष तीन सय ६० र महिला ४६ जना छन् । तीमध्ये सात पुरुष र एक जना महिला विदेशी हुन् । पक्राउ परेकामध्ये काठमाडौं उपत्यका प्रहरी कार्यालयअन्तर्गत २२, कोशी प्रदेशमा ८५, मधेसमा ५८, बागमतीमा ३२, गण्डकीमा ३२, लुम्बिनीमा ७९, कर्णालीमा ४९ र सुदूरपश्चिम प्रदेशमा ४९ जना रहेका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए ।
उनका अनुसार चालु आर्थिक वर्षमा ७७ प्रतिशत अभियुक्त प्रारम्भिक अनुसन्धानकै चरणमा पक्राउ गर्न सफल भएको छ ।
अनुसन्धान निरन्तर चलिरहने भएको हुँदा अभियुक्त पक्राउ पर्ने सङ्ख्या बढ्दै जान्छ । आव २०७९/८० मा ७८, आव २०७८/७९ मा ७७, आव २०७७/७८ मा ७५, आव २०७६/७७ मा ८१ र आव २०७५/७६ मा ८२ प्रतिशत अभियुक्त पक्राउ गर्न सफल भएको थियो ।
पछिल्लो पाँच वर्षको तथ्याङ्क विश्लेषण गर्दा कर्तव्य ज्यान मुद्दामा औषत ७९ प्रतिशत अभियुक्त पक्राउ परेका देखिएको छ । यसै सिलसिलामा सर्वश्वसहित जन्मकैद सजाय भएका फरार प्रतिवादी धादिङ ज्वालामुखीका ७० वर्षीय सूर्यबहादुर दवाडी २१ वर्षपछि गत माघ १ गते पक्राउ परे ।
उनलाई अंशसम्बन्धी झगडामा श्रीमती सानुमाया दवाडीको हत्या गरेको कर्तव्य ज्यानसम्बन्धी मुद्दामा विसं २०६१ जेठ ५ गते जिल्ला अदालत धादिङले सर्वश्वसहित जन्मकैद फैसला गरेको थियो । –रासस
Facebook Comment
Comment