काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणमा अध्यक्ष पदका लागि आवेदन खुला गरिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आइतबार एक सूचना प्रकाशित गर्दै आवेदन खुलाएको हो ।
प्रकाशित सूचना अनुसार अध्यक्षमा दरखास्त पेस गर्ने व्यक्ति ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्नेछ । आवेदन दिनका लागि तोकिएको योग्यतामा मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातक तह उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा १० वर्षको अनुभव प्राप्त गरेको हुनुपर्नेछ ।
तर, सरकारी सेवा वा सार्वजनिक संस्थान प्राधिकरण बोर्ड समिति आयोग प्रतिष्ठान वा सार्वजनिक कम्पनीको कर्मचारीको हकमा सम्बन्धित विषयमा स्नातक गरी राजपत्राङ्कित प्रथम श्रेणी वा सोभन्दा माथिको पदमा काम गरेको अनुभव प्राप्त गरेको हुनुपर्नेछ । यसै गरी, प्रचलित कानुन बमोजिम नियुक्ति हुन अयोग्य नठहरिएको हुनुपर्नेछ ।
उपरोक्त योग्यता पुगेका इच्छुक व्यक्तिले देहायका कागजातहरू संलग्न गरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सम्म दरखास्त पेस गर्नुपर्ने सूचनामा उल्लेख छ । दरखास्त पेस गर्ने अन्तिम म्याद सूचना प्रकाशित भएको मितिले सातौँ दिन वा सो दिनमा सार्वजनिक बिदा परेमा सोको भोलिपल्ट कार्यालय समयभित्र तोकिएको छ ।
सूचनाअनुसार उम्मेदवारले पेस गरेको व्यावसायिक कार्य योजना, सोको प्रस्तुतीकरण र अन्तरवार्ताको मूल्यांकनका आधारमा नियुक्तिका लागि सिफारिस गरिनेछ । दरखास्त सञ्चार तथा सूचना प्रविधि मन्त्रालय संस्थान समन्वय शाखामा बुझाउन भनिएको छ ।
Facebook Comment
Comment