काठमाडौं । अध्यागमन विभागले भारत र बेलायती सेनामाबाहेक अरू देशको सेना वा सशस्त्र समूहमा भर्ना हुनेकाम गैरकानुनी र राष्ट्रहित विपरीत भएको सचेत गराएको छ ।
विभागले मंगलबार वेबसाइटमार्फत ट्राभल एड्भाइजरी जारी गर्दै यस्ता काममा जाने व्यक्तिको उद्धार गर्न कठिन हुने भन्दै यसमा संलग्न नहुन अनुरोध गरेको छ ।
पछिल्लो समय रुष युक्रेनलगायतका देशमा धेरै नेपाली भर्ना भएकाले यस्तो सूचना जारी गरिएको हो । त्यहाँ सेनामा भर्ना भएका नेपालीको लागि उद्धारमा कठिनाइ भएको छ ।
साथै भिजिट तथा पर्यटक भिसामा विदेश यात्रा गर्ने नेपालीलाई समयमै फर्किन स्वघोषणा गर्न भनिएको छ । ‘भिजिट भिसामा गएका नेपालीहरू उल्लेखित मितिमा फर्कने गरेको नपाइएकाले असामान्य परिस्थिति बाहेक अन्य अवस्थामा तोकिएको मितिभित्र स्वदेश फर्कनुहोला,’ सूचनामा भनिएको छ, ‘अन्यथा यसबाट सिर्जना हुने अवस्थाका सम्बन्धमा व्यक्ति स्वयं जिम्मेवार हुने हुनाले समयमै स्वदेश फर्कनेछु भनी स्वःघोषणा गरेर मात्र प्रस्थान गर्नु हुन अनुरोध गरिन्छ।’
विदेश जानुअघि उक्त देशको भाषा, संस्कृति र कानुनसम्बन्धी सामान्य जानकारी राखेर मात्र भ्रमण गर्न पनि अनुरोध गरेको छ ।
भिजिट भिसामा नक्कली कागजात, झुट्टा विवरण समेत तयार पारी द्वन्द्वग्रस्त मुलुकसम्म पुगेर अलपत्र पर्ने गरेको भन्दै अध्यागमन विभागले सचेत रहन अनुरोध गरेको छ ।
Facebook Comment
Comment