सहकारीपीडितको सङ्ख्या बढ्दो, नियामक निकाय बाझिँदा थपियो चुनौती 

पछिल्लो समय सहकारी क्षेत्र प्रति सर्वसाधारणको विश्वास घट्दै गइरहेको छ । बिना योजना र सोचविचार सहकारीमा लगानी गर्नु र व्यवस्थापकको कमजोरीका कारण नेपालमा यसको भविष्य अन्योलमा परेको विज्ञ बताउँछन् ।

सहकारीपीडितको सङ्ख्या बढ्दो, नियामक निकाय बाझिँदा थपियो चुनौती 

काठमाडौं । पछिल्लो समय सहकारीका सञ्चालक बचतकर्ताको रकम कुम्ल्याएर भाग्ने क्रम बढिरहेको छ । भविष्यका लागि बचत गरिएको सर्वसाधारणको रकम कुम्ल्याउँदै सञ्चालक फरार हुँदा हजारौंको बिल्लीबाठ भएको छ ।

छिटो, छरितो र सस्तो ब्याजदरमा कर्जा पाइने आसमा बचत गर्दा सञ्चालकको बदमासीले पैसा डुब्ने गरेको बचतकर्ताको गुनासो छ । खोटाङ घर भइ हाल कागेश्वरी मनोहरा नगरपालिका ४ बस्ने इमान राई आफूहरूले बचत गरेको रकम फिर्ता लिन सहकारीलाई विविध कारण र समस्या देखाउनुपरेको बताउँछन् ।

उनीहरूले यमुना आइडल बहुउद्देश्यीय सहकारी संस्थामा जम्मा गरेका थिए । रकम फिर्ता लिन विभिन्न समस्या देखाउनु परेको उनको भनाइ छ । “आफ्नै पैसा लिन पनि अनेक समस्या देखाउनुपर्छ । त्यही नि पैसा भोलि दिने, पर्सि दिने भनेर झुलाइरहन्छन्,” उनले भने । सोमबार बचतकर्ताले रकम फिर्ता माग्दै सहकारीको टुसाल शाखा घेरेका थिए ।

कोभिडपछि थलिएको सहकारी विस्तारै तरलताको उच्च बिन्दुमा पुग्दै गएको यमुना आइडल बहुउद्देश्यीय सहकारी टुसाल शाखाका ब्रान्च म्यानेजर गोविन्द लामाले बताए । उनका अनुसार सहकारीमा दशैंपछि तरलताको जोखिम उच्च भएको र रिजर्भ पैसा पनि त्यतै टालटुल गर्दा सक्किएको हो ।

उनले भने “सहकारीमा पैसा सक्किएको हैन । तर, अहिले पैसा पनि छैन । भएका पैसा घरजग्गामा लगानी भएका छन् । हामीले विस्तारै-विस्तारै गरेर बचतकर्ताको पैसा फिर्ता गरिरहेका छौँ ।”

त्यस्तै मङ्गलबार बिहानै गोकर्णेश्वर नगरपालिका ८ अत्तरखेलमा सञ्चालित कान्तिभैरव बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक र कर्मचारी पक्राउ परे । बचतकर्ताको १ अर्ब २१ करोड रुपैयाँ बचत हिनामिना गरेको आरोपमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

यी त केही एक उदाहरण मात्र हुन् । यसरी बचतकर्ताको रकम कुल्याउँदै भाग्ने सहकारीको संख्या अहिले बढ्दो छ । हालसम्म कति सहकारीले बचतकर्ताको रकम फिर्ता गरेनन् र भागे भन्ने ठ्याक्कै तथ्याङ्क नभएको सहकारी विभागका उपरजिष्टार तथा सूचना अधिकारी टोलराज उपाध्याय बताउँछन् । उनका अनुसार अहिले १५ वटा सहकारीलाई समस्याग्रस्त घोषणा गरिएको छ ।

पछिल्लो समय सहकारीमा देखिएको समस्याको प्रमुख जड सञ्चालक र व्यवस्थापकको कमजोरी रहेको उनको भनाइ छ । सहकारीको नियामकी निकाय फरक-फरक हुनाले पनि समस्या निम्तिएको उनी बताउँछन् ।

“अहिले देशभर सहकारी नियामक निकाय ७६१ वटा छन्, कतिले कुन-कुन सहकारीलाई नियमन गर्न सकोस्,” उनी भन्छन्, “सञ्चालक र व्यवस्थापकीयको कमजोरी पनि छ ।” विभागमा आउने बचतकर्ताको प्रमुख गुनासो बचत फिर्ता नपाएको नै रहेको उनी बताउँछन् । सहकारी विभागका अनुसार सङ्घीय सरकारअन्तर्गतका १२५ वटामध्ये १५ वटा सहकारी समस्याग्रस्तको सूचीमा परिसकेका छन् ।

किन समस्याग्रस्त बन्दैछन् सहकारी ?

नेपालको आर्थिक विकासको एक महत्त्वपूर्ण अङ्गको रूपमा रहेका सहकारी संस्था पछिल्लो समय आर्थिक सङ्कटको कारक बन्दै गइरहेका छन् । बिनायोजना र सोचविचार सहकारीमा लगानी गर्नु र व्यवस्थापकको कमजोरीका कारण नेपालमा यसको भविष्य अन्योलमा परेको विज्ञ बताउँछन् ।

पूर्वडेपुटी गभर्नर चिन्तामणि सिवाकोटी सहकारी संस्थाहरू आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएको कारण समस्या निम्तिएको बताउँछन् । उनका अनुसार सहकारी सञ्चालक बढी नाफावादमा उन्मुख भएर मनपरी गर्दा समग्र क्षेत्र नै अहिले सङ्कटमा परेको हो ।

विभागका उपरजिष्टार टोलराज उपाध्याय सहकारी क्षेत्रमा समस्या आउनुको प्रमुख दोष कोभिड १९ लाई दिन्छन् । कोरोनापश्चात् ऋणीको सङ्ख्या बढेको तर, उक्त कर्जा असुलीमा समस्या भएको उनको भनाइ छ । साथै, कतिपय घरजग्गा धितो राखेर कर्जा लिएका व्यवसायी रकम चुक्ता गर्न नसक्ने अवस्थामा पुगेको कारण पनि सहकारीमा समस्या बढेको उनले बताए ।

विसं २०७७ सालको विभागको तथ्याङ्कअनुरूप नेपालमा कूल सहकारीको सङ्ख्या २९ हजार ८८६ छ । जसअनुसार सङ्घीय सरकारअन्तर्गत ० दशमलव ४१ प्रतिशत अर्थात् १२५ वटा, प्रदेश सरकारअन्तर्गत २० दशमलव ०८ प्रतिशत अर्थात् ६००२ वटा र स्थानीय सरकारअन्तर्गत ७९ दशमलव ४९ प्रतिशत अर्थात् २३ हजार ७ सय ५९ वटा सहकारी रहेका थिए ।

पछिल्लो समय सहकारी क्षेत्रप्रति सर्वसाधारणको विश्वास घट्दै गइरहेको छ । सहकारीको नियामक निकाय तीन तहमा बाझिँदा भद्रगोल भएको उपरजिष्टार उपाध्यायको दाबी छ । “सहकारीको अर्थ थाहा नभएको व्यक्ति सहकारी चलाउँछु भनेर लागि परेका छन् । सहकारीको नीति नियम र क्षेत्र अधिकारभन्दा बाहिर गएर जसरी हुन्छ नाफा कमाउनमा लागि परेका छन् ।यी र यस्ता व्यक्तिको कारणले समग्र सहकारी क्षेत्र नै धमिलिएको छ । जनमानसबाट विश्वसनीयता गुमाउँदै गइरहेको छ,” उनले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved