सुर्खेत । राष्ट्रियसभा निर्वाचनमा कर्णालीबाट तीन सिटका लागि छ जनाको उम्मेदवारी परेको छ । अन्य, दलित र महिला कलष्टरका लागि छ जनाको उम्मेदवारी परेको हो ।
तीनवटा सिटमा हुने निर्वाचनअन्तर्गत कर्णालीमा सत्ता गठबन्धनका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको भागमा एक–एक सिट परेको छ ।
जसअन्तर्गत महिला कोटातर्फ एकीकृत समाजवादीकी सावित्री मल्ल (दैलेख), दलित कोटामा माओवादीका विष्णु विक ‘विकल्प’ (कालीकोट) र अन्यतर्फ कांग्रेसका कृष्ण रोकाया (रुकुम पश्चिम)ले उम्मेदवारी गराएका छन् ।
त्यस्तै, राष्ट्रिय सभाका लागि नेकपा एमाले कर्णाली प्रदेशका उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश निर्वाचनको कार्यालयमा पुगेर उनीहरूले उम्मेदवारी दर्ता गरेका हुन् ।
जसअन्तर्गत महिला कोटाबाट हुम्लाकी विमलाकुमारी शाही अन्यबाट मुगुका डिल्लीप्रसाद भट्ट र दलित कोटाबाट दैलेखका हिक्मत विक उम्मेदवार बनेका छन् ।
कस्तो छ मतभार ?
कांग्रेससँग प्रदेश र स्थानीय तहको निर्वाचनको कुल मतभार १ हजार ९ सय ७६ छ । स्थानीय तहका प्रमुख/अध्यक्ष ६ सय ८ र उप–प्रमुख/उपाध्यक्षबाट ५ सय ३२ र प्रदेशसभामा ७ सय ९५ मतभार रहेको छ ।
यस्तै, माओवादी केन्द्रसँग स्थानीय तहको प्रमुख/अध्यक्ष गरी ४ सय ३७ र उप–प्रमुख/उपाध्यक्षको ४ सय ७५ र प्रदेशसभा सदस्य ६ सय ८९ गरी जम्मा १ हजार ६ सय १ मतभार छ ।
एमालेसँग स्थानीय तहका प्रमुख/अध्यक्ष गरी २ सय ८५, उप–प्रमुख÷उपाध्यक्षबाट ३ सय ८० र प्रदेशसभामा ५ सय ३० गरी कुल १ हजार १ सय ९५ मतभार छ ।
यस्तै, एकीकृत समाजवादीसँग स्थानीय तहका प्रमुख/अध्यक्ष गरी ७६ र उप–प्रमुख/उपाध्यक्ष गरी १ सय १४ र प्रदेशसभामा ५३ गरी जम्मा २ सय ४३ मतभार छ । स्थानीय तहका प्रमुखमा निर्वाचित भएका ५ जनाको मतभार ९५ रहँदा राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रदेशसभामा ५३ मतभार छ ।
Facebook Comment
Comment