काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)ले ललितपुरको बालकुमारीमा भएको घटनाप्रति आपत्ति जनाएको छ ।
शुक्रबार कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा दिन नपाएपछि युवाहरुले गरेको प्रदर्शनका क्रममा दुई जनाको मृत्यु भएसँगै आपत्ति भएको हो ।
मृत्युपछि पार्टीले प्रहरी प्रशासनबाट युवाहरुको हत्या हुनु निन्दनीय भएको भन्दै सरकारको विरोध गरेको छ ।
सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका केन्द्रीय सदस्य सुदेश पराजुलीले युवा आफ्नो भोको पेटको समस्याको बारेमा आन्दोलित हुँदै गर्दा प्रहरीले गोली हानेर हत्या गर्नु निन्दनीय भएको बताए ।
उनले युवाको समस्या समाधान गर्न सरकार तयार नरहेको प्रष्ट भएको बताए । युवाको छातीमा गोली हानेर समस्या समाधान गर्ने दिन गएको बताउँदै वार्तामार्फत समस्या समाधान गर्न आग्रह गरे ।
नेता पराजुलीले युवालाई मार्ने घृणित कार्य नगर्न सरकारलाई चेतावनी दिए ।
Facebook Comment
Comment