राष्ट्रियसभा निर्वाचन : जसपा र राप्रपासँग मिल्ने तयारीमा एमाले, सत्तागठबन्धनमा सकस

पछिल्लो समय सत्तागठबन्धनसँग जसपाले असन्तुष्टि व्यक्त गर्दै आएको छ । र, जसपासँग तालमेल गर्न सके सत्ता गठबन्धनमा विभाजन ल्याउन सकिने एमालेको बुझाइ छ ।

नेपालभ्युज

राष्ट्रियसभा निर्वाचन : जसपा र राप्रपासँग मिल्ने तयारीमा एमाले, सत्तागठबन्धनमा सकस

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा नेकपा एमालेले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपासँग तालमेल गर्ने तयारी गरेको छ । एमालेले राष्ट्रिय सभामा रिक्त १९ सिटका लागि माघ ११ गते हुने निर्वाचनमा जसपा र राप्रपासँग तालमेल गर्ने तयारी गरेको हो ।

अहिले सत्तागठबन्धनमै रहेको जसपालाई आफूतिर तान्न एमालेले प्रयास गरिरहेको छ । एमालेले मधेस प्रदेशमा जसपाको सरकारलाई समर्थन जारी राखेको छ । यसकै आधारमा एमालेले राष्ट्रियसभा निर्वाचनमा जसपालाई आफूतिर तान्ने प्रयास गरेको हो ।

पछिल्लो समय सत्तागठबन्धनसँग जसपाले असन्तुष्टि पनि व्यक्त गर्दै आएको छ । जसपासँग तालमेल हुन सके सत्ता गठबन्धनमा विभाजन ल्याउन सकिने एमालेको बुझाइ छ ।

त्यस्तै विगतमा कोशी प्रदेशमा गरेको तालमेलकै जगमा एमालेले राष्ट्रिय सभा निर्वाचनमा राप्रपासँग पनि सहकार्य गर्ने रणनीति बनाएको छ ।

राष्ट्रिय सभाबाट एमालेका अध्यक्षसहित ९ सांसदको पदावधि माघ २० देखि सकिँदै छ । अध्यक्ष गणेशप्रसाद तिमिल्सिना (गण्डकी), इन्दु कडरिया (सुदूरपश्चिम), कुमार दसौदी (लुम्बिनी), दीपा गुरुङ (गण्डकी), दिलकुमारी रावल थापा पार्वती (वाग्मती), नरपति लुवार (कर्णाली), भैरवसुन्दर श्रेष्ठ (कर्णाली) र रामचन्द्र राई (वाग्मती) ले बिदा लिँदै छन् ।

राष्ट्रपतिबाट मनोनीत विमला राई पौड्याल तथा गठबन्धनको समर्थनबाट निर्वाचिन स्वतन्त्र सांसद खिमलाल देवकोटा पनि राष्ट्रिय सभाबाट बाहिरिँदै छन् । यस्तै, कांग्रेसका ४, माओवादीका ३, एकीकृत समाजवादीका २ र जसपाका १ सांसदको पदावधि सकिँदै छ ।

जसपाले भने राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनसँगको तालमेललाई नै पहिलो प्राथमिकता दिने र नभए अन्य दलसँग पनि तालमेल गर्न सकिने जनाएको छ । त्यस्तै राप्रपाले पनि राष्ट्रिय सभा निर्वाचनलाई लक्षित गरी प्रमुख दलसँग वार्ताको ढोका खुलै राखेको जनाएको छ ।

सत्तागठबन्धनमा सकस

राष्ट्रियसभा सदस्यको भागबन्डा मिलाउनका लागि सत्तागठबन्धनमा आबद्ध दलका शीर्षहरुबीच पटक–पटक छलफल भएको छ । तर उनीहरुबीच सहमति जुट्न सकेको छैन ।

कुन दलले कति सिट लिने, अध्यक्ष कसले लिने, राष्ट्रपतिबाट सिफारिस हुने सिट कुन दलले लिनेलगायतका विषयमा उनीहरुबीच कुरा मिल्न नसकेको हो ।

गठबन्धनमा सबै दलहरूले आफूलाई अध्यक्ष चाहिने अडान राखेका छन् । कांग्रेसले अध्यक्ष स्वतः आफूले पाउनुपर्ने बताइरहेको छ । गठबन्धनको सबैभन्दा ठूलो दल भएकाले अध्यक्ष स्वतः कांग्रेसले पाउनुपर्ने नेता रमेश लेखक बताउँछन् ।

अध्यक्षमा कांग्रेसबाट पूर्वउपसभापति गोपालमान श्रेष्ठ र पूर्वमहामन्त्री कृष्ण सिटौलाले सशक्त दाबी गरेका छन् ।

यस्तै सरकारको नेतृत्वकर्ता दल माओवादी केन्द्रले पनि अध्यक्ष चाहिने बताएको छ । गठबन्धनमा भएको सहमतिअनुसार अब केही समयपछि देउवा प्रधानमन्त्री बन्ने र त्यसबेला संवैधानिक परिषद्‌मा आफूहरूको सहभागिता नरहने भएकाले अध्यक्ष आफूहरूले पाउनुपर्ने दाबी माओवादी नेताहरूको छ ।

अहिले माओवादीबाट उर्मिला अर्याल उपाध्यक्ष छन् । माओवादीले उपाध्यक्ष छाडेर अध्यक्ष लिने नेताहरूको भनाइ छ । त्यस्तो अवस्थामा अर्याललाई नै वा यसअघि नै एक कार्यकाल सदस्यसमेत बनिसकेका रामनारायण बिडारीलाई अघि बढाउनसक्ने बताइन्छ ।

एकीकृत समाजवादीले पनि अध्यक्ष आफूले पाउनुपर्ने बताइरहेको छ । संवैधानिक परिषद्‌मा आफूहरूको उपस्थिति अनिवार्य हुनुपर्ने भन्दै उसले राष्ट्रियसभा अध्यक्ष आफूले पाउनुपर्ने अडान राखेको छ । यसअघि प्रधानमन्त्री प्रचण्डले बोलाएको बैठकमा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले यही बताएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved