काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सुर्खेतका नौ वर्षीय किशोर पौडेलले एउटा ‘सर्ट नोट’ थमाएका छन् । उक्त सर्ट नोटमा किशोरले युवा भएपछि पेट पाल्नकै लागि विदेश जानुपर्ने अवस्थाको अन्त्य गरिदिन आग्रह गरेका छन् ।
उक्त सर्ट नोटमा लेखिएको छ– सम्मानीय पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ज्यू, म र मजस्ता बालबालिकाहरु युवा अवस्थामा पुग्दासम्म पेट पाल्नकै लागि विदेश जानैपर्ने अवस्थाको अन्त्य गरिदिनुहुन अनुरोध गर्दछु ।’
पार्टीको महाकाली–मेची अभियानमा रहेका ओलीलाई सुर्खेत गुर्भाकोट– १० का पौडेलले उक्त पत्र थमाएका हुन् ।
उक्त पत्र सार्वजनिक गर्दै ओलीले भनेका छन्–
हाम्रो यात्रा सुर्खेतबाट सल्यान हुँदै जाजरकोटतिर लाग्दै थियो। हिँडने बेलामा ९ वर्षीय बाबु किशोर पौडेलले एउटा सानो चिट्ठी हातमा थमाए। स्वदेशमै कमाइको वातावरण बनाउन उनले सल्लाह दिए। मैले सोचें– हामीले मध्यपहाडी राजमार्ग निर्माण थालेको पनि त्यसैका लागि हो, भेरी बबई डाइभर्सन पनि कृषि उत्पादन बढाउनकै लागि हो, यसलाई छिटो सम्पन्न गर्नु पर्छ। ग्रामीण विद्युतीकरण, इन्टरनेट विस्तार पनि यसैका लागि गरेका हौं। सुर्खेत, सल्यान, जाजरकोट, रुकुममा चिल्ला सडकहरू बनेका छन्। यी बाबुको सपना पूरा गर्न यसले सघाउँदै जान्छ।
Facebook Comment
Comment