काठमाडौं । कवि सयपत्री थुलुङको कविता सङ्ग्रह ‘गाउँ फर्किरहेको परदेशी’ सार्वजनिक भएको छ । सङ्ग्रह सम्भव समूहको आयोजनामा शनिवार मण्डला नाटकघरमा सार्वजनिक गरिएको हो ।
सार्वजनिक समारोहमा वक्ताका रूपमा रहेका वरिष्ठ कवि श्रवण मुकारुङ, कवि ज्योति जङ्गल, कवि उत्तम लिम्बूसँगै कवि थुलुङले संयुक्तरूपमा सङ्ग्रह सार्वजनिक गरेका हुन् ।
वक्ताहरूले कवि थुलुङको कविता सङ्ग्रहलाई ‘सन्तुलित कविताहरूको सङ्ग्रह’को संज्ञा दिए । थुलुङको कविता कलात्मक र वैचारिकी दुवै तवरले बलियो रहेको भन्दै कविलाई लेखिरहन सुझावसहितको प्रेरणासमेत दिए ।
कवि थुलुङले आफू वैदेशिक रोजगारीका क्रममा देशबाहिर रहँदाका अनुभूतिहरूलाई समेटेर कविता बनाएको बताइन् । “म देशबाहिर रहँदा सबै मेरा कविताहरू नै थिए । यी कविताहरूकै साथ थियो,” कविता थुलुङले भनिन् ।
कवि थुलुङले यसअघि २०७० सालमै ‘शान्तिको फूल’ गजल सङ्ग्रह पाठकसामु ल्याइसकेकी छिन् भने अन्य फुटकर कविताहरू पनि टन्नै लेखेकी छन् ।
Facebook Comment
Comment