काठमाडौं। ग्लोबल नेप्लिज कराँते अर्गनाइजेसनले १० औं विश्व सितोरियो कराँते च्याम्पियनसिपका पदक विजेता खेलाडीलाई शुक्रबार नगदसहित सम्मान गरेको छ ।
इन्डोनेसियाको जाकार्तामा गत सेप्टेम्बर २२ देखि २४ तारिखसम्म भएको उक्त प्रतियोगितामा नेपालले १ स्वर्ण, ३ रजत र ६ कांस्य जितेको थियो । एरिका गुरुङले नेपाललाई एक मात्र स्वर्ण दिलाएकी थिइन् ।
१९ औं एसियाली खेलकुदकी ऐतिहासिक रजत विजेता समेत रहेकी एरिकालाई ३० हजार नगदसहित प्रशंसा पत्र प्रदान गरियो । रजत विजेता विप्लवलाल श्रेष्ठ, निरुपमा दोङ तामाङ र मोहम्मद शेखु अलामले १५ हजार नगदसहित प्रशंसा पत्र पाए । कांस्य पदक जितेका सन्तोष श्रेष्ठ, सविना श्रेष्ठ, आशिष थापा, पुष्पका लामा, एलिशा राजकोटी मगर र सानुमाया थिङले जनही १० हजार नगदसहित प्रशंसा पत्र प्रदान गरियो ।

सोही अवसरमा एसियाली खेलकुदका प्रशिक्षकत्रय कुशल श्रेष्ठ, छोरी मैया डंगोल र वीरकृष्ण शाही तथा टिम व्यवस्थापक निवासगोपाल वैद्यलाई पनि प्रशंसा पत्रबाट सम्मान गरिएको थियो ।
कार्यक्रममा रसुवा डोजो, सुर्खेत डोजो, भुटानी शरणार्थी क्याम्प र चापागाउँ डोजोलाई ५० हजार मूल्य बराबरको खेल सामाग्री प्रदान गरिएको थियो । त्यसै अवसरमा नेपाल कराते महासंघको आयोजनामा मंसिर १६ देखि १७ गतेसम्म हुने सातौं दक्षिण एसियाली कराते च्याम्पियनसिपका लागि सहयोग महासंघलाई स्वरुप १ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको थियो ।
पूर्व मन्त्री एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, बागमती प्रदेशका सांसद् मीनकृष्ण महर्जन, ग्लोबलका अध्यक्ष एवं आठौं दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेता सुरेन्द्रलाल श्रेष्ठ, ग्लोबलका प्रमुख सल्लाहकार एवं करातेका संस्थापक थानेश्वर राई र नेपाल कराते महासंघका अध्यक्ष युवराज लामाले नगद, प्रशंसा पत्र, खेल सामाग्री र सहयोग रकम हस्तान्तरण गरे ।

एरिका गुरुङ : मनमैजु डोजादेखि रजत पदकसम्म
Facebook Comment
Comment