काठमाडौं। मनाङ मर्स्याङ्दी क्लब शहीद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ। शुक्रबारको खेलमा फ्रेण्डस् क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै लिग उपाधिको दाबेदारमध्ये मनाङ पहिलो स्थानमा पुगेको हो।
दशरथ रंगशालामा भएको खेलको ४१ औ मिनेटमा विदेशी खेलाडी ओलावलेले गोल गर्दै मनाङको खाता खोलेका थिए। पहिलो हाफको १-० को अग्रतामा खेलको ७४ औं मिनेटमा गोल गर्दै दिनेश राजवंशीले मनाङको जित पक्का गरे।
फ्रेण्डसले भने खेलमा प्राप्त मौकाहरू सदुपयोग गर्न नसक्दा एक गोल पनि गर्न सकेन।
लिगमा अपराजित रहेको मनाङ यो जितपछि चार खेलमा १० अंकसहित पहिलो स्थानमा उक्लेको छ। तर मनाङले लिगमा सात अंक रहेका दुई टिम सातदोबाटो युथ क्लब र मछिन्द्र क्लबभन्दा एक खेल बढी खेलेको छ।
हालसम्म एक खेल पनि जित्न नसकेको फ्रेण्डस् भने चार खेलमा मात्र दुई अंकसहित १२ औं स्थानमा छ।
Facebook Comment
Comment