जनकपुरधाम । छठ पर्व नजिकिँदै जाँदा धनुषा र महोत्तरीका डोम समुदाय बाँस र बेतका चोयाबाट भाँडाकुँडा बनाउन व्यस्त छन् । यतिबेला उनीहरूले बाँसका सामग्री बेचेर राम्रो आम्दानी गरिरहेका छन् ।
गरिबी र विपन्नताको जाँतोमा पिल्सिएका डोम समुदायलाई छठ पर्व नजिकिँदै जाँदा बाँस र बेतका चोयाबाट डालो, नाङ्लो र टपरी बनाउन भ्याई नभ्याई छ ।
धनुषा, महोत्तरीमा करिब पन्ध्र लाख जनसंख्यामध्ये झण्डै ७५ प्रतिशतले छठ पर्व मनाउने गरेका छन् । प्रत्येक छठ व्रतीलाई बाँस र बेतका भाँडाकुँडा बेचेर राम्रो आम्दानी गर्ने गरेको धनुषाको क्षीरेश्वरनाथ नगरपालिका ६ सखुवाबजारका डोम समुदायका झल्कु मल्लिक बताउँछन् ।
छठमा व्रतालुले बाँस र बेतबाट बनेका भाँडाकुँडा प्रयोग गर्ने भएकाले यस बेला आफूहरूले केही आम्दानी गर्न सकेको श्याम मल्लिक बताउँछन् । उनी भन्छन्, ‘छठको बेला व्रतबस्नेहरुले बाँस अनि बेतको भाँडाकुँडा प्रयोग गर्नुपर्ने भएकाले सबैले किन्छन्, काम गर्न सक्यो भने हामीले यस बेला पैसा कमाउन सक्छौँ ।’
कार्तिक महिना लागेसंगै डोम समुदायका बच्चादेखि बुढासम्मकाहरुले काम पाएका छन् । उनीहरू बिहानदेखि बेलुकासम्म डालो, नाङ्लो र टालु टपरी बनाउनमा खटिरहेका हुन्छन् ।
छठ पर्व मनाउन प्रत्येक परिवारमा पाँच-सात वटा बाँसका भाँडाकुँडा किन्ने प्रचलन छ ।
महोत्तरीको भंगहा नगरपालिकाका सुखारी डोमले घरका बालकदेखि बूढासम्मले डालो नाङ्लो बेचेर प्रतिव्यक्ति १० देखि २० हजार र प्रत्येक परिवारले सरदर दुई लाखसम्म आम्दानी गर्ने गरेको बताए ।
बर्सेनि छठ पर्व मनाउने व्यक्तिको सङ्ख्यामा वृद्धि हुँदै जाँदा बाँसका भाँडाकुँडा पुर्याउन डोम समुदायलाई सकस भएको छ ।
डोम बस्तीमा अहिले बाँस खोजेर ल्याउने, फट्याउने, कप्टेरा र चोया काढ्ने र मागअनुसारका सामान बुन्ने काममा परिवारका सबै सदस्य व्यस्त देखिन्छन् ।
महोत्तरीको जलेश्वर नगरपालिकाका रामजी डोमले डालो, नाङ्लो र टालु टपरी बेचेर कात्तिकभरिमा वर्षभरिकै सबै कर्जा ऋण चुक्ता गर्न सकिने र केही महिनासम्मको खर्चको जोहो गर्ने जति कमाइ हुने गरेको बताउँछन् ।
पछिल्ला केही वर्षदेखि तराईमा मात्रै नभएर देशको राजधानी काठमाडौं सहित पोखरा, हेटौँडा जस्ता पहाडी क्षेत्रमा पनि छठ पर्व मनाउन थालिएकाले तराईबाट बाँस र बेतबाट तयार भएका सामग्रीको खपत हुने गरेको छ ।
को हुन डोम समुदाय ?
दलित समुदाय अन्तर्गत सबैभन्दा पिछडिएको डोम समुदाय हो । डोमहरु तराई-मधेसका जिल्लामा ऐलानी जग्गामा झुप्रो बनाएर बसोबास गरिरहेका छन् । यो जातिलाई दलितभित्रको दलित भन्ने गरिन्छ । यीनिहरुको आफ्नै संस्कृति र संस्कार रहेको छ ।
डोमहरू बाँसको सिपको धनी मानिन्छन् । यिनीहरूको अर्को पेशा सुँगुर पालन हो ।
यी समुदायका महिलाले रुपैयाँको माला, खुट्टामा पाउजु, काँडा, छाडा इत्यादि लगाउँछन्, गालामा माला हसुली र शरीरमा विशेष गरी गोदना भर्ने चलन छ । डोम जातिले हिन्दु धर्म मान्छन् र काली भगवतीको पूजा गर्दछन् ।

Facebook Comment
Comment