काठमाडौं। जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितले चार रात खुला आकाशमुनि कठ्याङिग्रएर भोकभोकै बिताइसकेका थिए । केही पीडितले दातामार्फत पाएको त्रिपाल टाँगेर चउरमा टाउको लुकाउने ठाउँ बनाएका थिए ।
यस्तैबीच राष्ट्रपति रामचन्द्र पौडेललाई आफन्त वियोगसँगै घरबास गुमाएर छट्पटाइरहेका भूकम्पपीडित हेर्ने रहर जाग्यो । र उनी मंगलबार त्यसतर्फ गए ।
राष्ट्रपति पुगिसकेपछि सुरक्षाकर्मीले सुरक्षा नदिइ भएन । सुरक्षाकर्मीहरू भत्केका घरहरूको काठ र माटो, ढुङ्गा तथा समान अलग गर्ने काममा थिए । कोही राहत सामग्री बोकेर गाउँगाउँ जाँदै थिए ।
काममा व्यस्त रहेका सुरक्षाकर्मीलाई माथिबाट निर्देशन आयो- खुला ठाउँमा पाल टाँगेर बसेका पीडितहरूलाई तत्काल हटाउनू। राष्ट्रपतिको हेलिकप्टर ल्यान्ड गर्ने ठाउँ बनाउनू र सबै सुरक्षाकर्मी सुरक्षाको लागि तयार हुनू।
राष्ट्रपतिको हेलिकोप्टर ल्यान्ड गर्न भूकम्प पीडितको त्रिपाल हटाएर खाली गरेको चौर
निर्देशनलगतै राहत सामग्री बिसाएर सुरक्षाकर्मी भनिएको चौरमा आए । पीडितको सहयोगमा रहेका सुरक्षाकर्मी काम छाडेर उतै दौडिए । चौरमा त्रिपाल टाँगेर बसेका पीडितलाई हटाइयो । पोको कुम्लो बोकेर पीडितहरू बारीतिर दौडिए । लालाबाला घिच्याउँदै पीडितहरू भत्किएको घरको आँगनतिर लागे ।
एकैछिनमा आकाशमा राष्ट्रपति रामचन्द्र पौडेल सवार सेनाको हेलिकप्टर देखियो । भर्खरै खाली गरेको ठाउँमा हेलिकप्टर ल्याण्ड भयो । हेलिकप्टर ल्याण्ड हुँदा वरपरका अरू पीडितको पाल उडायो । त्यो क्षेत्र धुलाम्मे भयो । खुला आकाशमा बस्न बाध्य पीडितहरू धुलाम्मे भए ।
एकैछिनमा राष्ट्रपति हेलिकप्टरबाट ओर्लिए । उनलाई सुरक्षाकर्मीले दुई पाखुरामा समातेर घिच्चाउँदै ल्याए । अस्वस्थ र कमजोर भएकाले उनी एक्लै हिँड्न सक्ने अवस्थामा थिएनन्। दुईपट्टिबाट चार जनाले समाएर घिच्याएर हिँडाएको टीठलाग्दो दृश्य हेरिहरेका भूकम्पपीडितहरू थप मर्माहत बने ।
राष्ट्रपतिलाई दुई पाखुरामा घिच्चाएर भूकम्प प्रभावित क्षेत्र अवलोकन गराउँदै सुरक्षाकर्मीहरू
०००
राष्ट्रपति पौडेल भूकम्प प्रभावित क्षत्रमा यसरी नै अवलोकन गरे । उमेर पाको र स्वास्थ्यको हिसाबले समेत कमजोर रहेका राष्ट्रपति पौडेल त्यहाँ नगइनहुने थिएन । तर, सकिनसकी भए पनि रहर पूरा गरेरै छाडे ।
उद्दारमा सक्रिय एक सुरक्षा अधिकारीले नेपालभ्यूजसँग भने, ‘‘हामी पीडितको सहयोगमा व्यस्त भइरहेका हुन्छौँ । तर, भिआइपीहरू लगातार आइरहँदा त्यसको सुरक्षा समन्वय गर्नुपर्छ। सुरक्षामा खटिनुपर्छ । हाम्रा जवानहरूलाई निकै अप्ठेरो पर्छ। उद्दारमा खटेका हामीलाई भीआइपीको सुरक्षा पनि हेर्नुपर्छ।’’
०००
शुक्रबार राति जाजरकोटको बारेकोट केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्यूडको भूकम्प गयो । जाजरकोट र रुकुम पश्चिममा ठूलो धनजनको क्षति भयो । १ सय ५७ जनाको मृत्यु भएको छ भने ३ सय ४० जना घाइते भएका छन् ।
भोलिपल्टै शनिबार दिउँसो प्रधानमन्त्री प्रचण्डसहित संघीय सरकारका मन्त्रीहरूले अवलोकन पनि गरे । क्षतिको अवस्था बुझ्न जाजरकोट र रुकुम पश्चिम गए ।
प्रदेश सरकारका मन्त्रीहरूले त्यहाँको निरीक्षण गरे । जाजरकोट र रुकुम पश्चिमका अधिकांश घरहरू भत्किएका छन् । कुनै विकल्प नभएकाहरू रातभर रुखको फेद र खुला आकाशमुनि बस्न बाध्य छन् ।
भिडिओ-
घटनाको चौथो दिन मंगलबारसम्म पुग्दा राष्ट्रपति पौडेलसमेत सकिनसकी घटनास्थल पुगे । तर, तत्काल राहतको अपेक्षा गरेका पीडितको आशा भने अझै पूरा भएको छैन ।
जिल्ला विपद् व्यवस्थापन समितिले भूकम्प प्रभावित क्षेत्रमा सोमबार राहत पुर्याएको दाबी गरे पनि अधिकांश पीडितसम्म पुग्न सकेको छैन । शुक्रबार रातिको भूकम्पबाट जनधनको क्षति भएर विस्थापित भएकाहरू बारी र कान्लामा खुला आकाशमुनि त्रिपाल टाँगेर चिसो रात बिताइरहेका छन् । सोमबार अपराह्न फेरि भूकम्पको धक्का गएपछि उनीहरू झन् त्रसित बनेका छन् ।
यस्तो पीडामा अवलोकनको नाउँमा विशिष्ट व्यक्तिहरू लगातार गइरहँदा सामाजिक सञ्जालमा प्रश्न गर्न थालिएको छ, ‘भीआइपी होइन उद्धार र राहतको लागि सुरक्षाकर्मी र स्वास्थ्यकर्मी पठाउ ।’
आफ्नो क्षेत्रमा अहिले नेताको भाषण, आश्वासन भन्दा उद्धारकर्मी र राहतको आवश्यकता भएको भन्दै स्थानीय समेत आक्रोशित छन् । सामाजिक सञ्जालमा समेत भीआइपी भ्रमणको औचित्यमाथि प्रश्न गर्न थालिएको छ ।
किनकि अहिले राहत गोदाममा थन्किएका छन् । एकद्धवार प्रणालीबाट वितरण गर्ने नाममा प्रदेश सदरमुकाम र जिल्ला सदरमुकामको गोदाममा थन्किएको छ । यस्तो अवस्थामा भीआइपी पुग्दा त्यहाँको अवस्था केही फेरिँदैन ।
बरु प्रधानमन्त्री, राष्ट्रपति, मन्त्री जाने भनिएको हेलिकोप्टरमा राहत पठाएमा पीडितले पाउने थिए । बारीमा त्रिपाल टाँगेर चिसो भुईँमा बसिरहेका पीडितहरू खाने, सुत्ने व्यवस्थापन राम्रो नहुँदा बिरामी पर्न थालेका छन् । पर्याप्त लत्ताकपडा नहुँदा चिसोका कारण बालबालिका र ज्येष्ठ नागरिकमा ज्वरो, निमोनिया, रुघाखोकीलगायत स्वास्थ्य समस्या देखिन थालेको स्थानीय बताउँछन् ।
उनीहरू भन्छन्, ‘‘‘अहिले हामीलाई गाँसबासकै पीर छ । किरिया गर्नेसम्मको ठाउँ छैन । कठ्यांग्रिँदो जाडोमा सुत्न सकिएको छैन, रातभर आगो तापेर बस्न बाध्य छौँ। आकाशमा भीआइपीको हेलिकप्टर हेरेर बस्नुपर्याे छ ।
उद्धार छाडेर भीआइपीको सुरक्षामा
शनिबार रातिदेखि नै सुरक्षाकर्मीको बाक्लो उपस्थिति थियो । नेपाली सेनाका जवानहरूले भत्केका घरहरूको काठ र माटो, ढुङ्गा तथा समान अलग गर्ने काम गर्दै थिए ।
पुरिएकाहरुलाई खोजतलास गर्ने काम गरिरहेका थिए । शनिबार दिउँसो प्रधानमन्त्री पुग्दा भत्किएका घरबाट केही शव निकालिएका थिए। केही घाइतेलाई उपचारका लागि पठाइएको थियो । पुरिएका कैयाँको उद्धार गर्न बाँकी थियो ।
पुरिएकाहरू केही जीवित केहीको निधन भइसकेको थियो । जे होस् तत्काल उद्धारको आवश्यकता थियो ।
तर, उद्धारमा लाग्नुपर्ने सुरक्षा संयन्त्रको भने बाटोघाटोमा बाक्लो उपस्थिति भयो। घर भत्केर पुरिएका शवहरू निकाल्ने काम सुरक्षाकर्मीले गरेका थिए । घाइतेको उद्धार गरेर अस्पताल लगिरहेका थिए । भूकम्प प्रभावितहरूको व्यवस्थापनमा सक्रिय थिए ।
शनिबार भूकम्प प्रभावित क्षेत्र अवलोकन गर्दै प्रधानमन्त्री प्रचण्ड
आफ्नै ढंगले काममा खटिएका थिए । तर, सुरक्षाकर्मीको टाउको दुखाईको विषय शनिबार दिउँसोबाट सुरु भयो ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका जवानहरूलाई पीडितहरूको सहयोग गर्नमा बाधक बने भीआइपी र भिभिआइपीहरू । ती काममा व्यस्त रहेका उनीहरूमध्ये आधाजसो संख्याका सुरक्षाकर्मीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र केही मन्त्रीहरूको सुरक्षाको लागि भन्दै फिर्ता पठाइयो ।
राहत तथा उद्दारमा खटिएका प्रहरी प्रधानमन्त्रीको सुरक्षा व्यवस्थापनमा खट्नुपर्याे । सुरक्षा निकायको तीनवटै संयन्त्र प्रधानमन्त्री प्रचण्डकै वरिपरि रहे उनी रहुन्जेल ।
१५ घण्टा बिताएर उनी शनिबार राति अबेर काठमाडौं फर्किए । बल्ल सुरक्षाकर्मीको बोझ हट्यो । उनीहरू फेरि लागे पीडितको उद्धारमा । तर, उद्धारमा धेरै ढिला भइसकेको थियो ।
‘डिजास्टर टुरिजम’
मंगलबारसम्म पनि प्रभावित क्षेत्रमा भिआइपीहरूको भ्रमण जारी रह्यो । जसले गर्दा सहयोगमा खटिएका सुरक्षाकर्मी सुरक्षामा भुलिए । अहिले जाजरकोट र रुकुम पश्चिममा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई भिआइपीकै चिन्ताले सताएको छ ।
उद्धार कार्य सकिए पनि पीडितको घर तथा राहतमा सक्रिय भइरहनुपर्नेछ । तर, भीभीआइपी आउने भएपछि सशस्त्र प्रहरी तथा नेपाल प्रहरीको ध्यान उनीहरूकै सुरक्षातिर ध्यान बाध्य हुनुपरेको छ ।
वैज्ञानिक र विज्ञ पुग्नुपर्ने ठाउँमा प्रधानमन्त्री र राष्ट्रपति जानु बेकार रहेको भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट)का अध्यक्ष आमोदमणि दीक्षित भन्छन्।
एनसेटका अध्यक्ष आमोदमणि दीक्षित भन्छन्– ‘‘यस्ता विपत् स्थलमा प्रधानमन्त्री, मन्त्री, उच्चपदस्थ व्यक्तिहरू पुग्नु भनेको ‘डिजास्टर टुरिज्म’ हो । र यो क्षम्य हुन्न । जहाँ वैज्ञानिक र विज्ञ पुग्नु पर्ने हो । त्यहाँ प्रधानमन्त्री पुगेर काम छैन ।’’
भूकम्पलगायत विपत्मा विशिष्ट व्यक्ति गएर उद्धार गरिएका सुरक्षाकर्मीलाई अल्झाउने भन्दा सघाउन उद्धारका साधन पठाउनुपर्ने उनको तर्क छ।
पीडित आक्रोशित, भीआइपीमाथि हातपातको खतरा !
चारदिन बित्दा पनि खुला आकाशमा भोकै बस्न बाध्य भएकाहरू सरकारप्रति आक्रोशित छन् । त्यहाँका सुरक्षा निकायले पीडितहरू राहत नपाएको भन्दै पीडितहरूले आक्रामक भएर कुनै भीआइपीमाथि हातपात गर्न सक्ने सम्भावनाको विश्लेषण गरेका छन् ।
नेपाल प्रहरीका एक अधिकारी भन्छन्, ‘‘पीडितहरू कुनै बेला पनि आक्रोशित हुन सक्छन्। राहत नपाए, सहयोग नपाएको भन्दै पीडितहरूले आक्रामक भएर कुनै भीआइपीमाथि हातपात वा कुनै घटना भए हामीलाई समस्या हुन्छ । यसैले अहिले प्रभावित क्षेत्रमा केही समयका लागि भीभीआइपी तथा भिआइपीहरूको आगमनलाई रोक्नुपर्छ।’’
भीआइपीको लर्काे लागेपछि स्थानीय जनप्रतिनिधि समेत आजित छन्। मापदण्ड बनाएर एकद्वार प्रणालीमार्फत राहत वितरण गर्ने भन्दै ढिलाइ भएको रुकुम पश्चिमको नलगाड नगरपालिका नगरप्रमुख डम्बरबहादुर रावत बताउँछन् ।
‘‘केही सामग्री आएको छ, पालिकाको केन्द्रनजिकका वडामा मात्र उपलब्ध गराएका छौँ,’’ उनले भने, ‘‘पालिकाभरि दुई हजार बढी परिवार प्रभावित छन् । पाँचसय ब्लाङ्केट आएका छन्। तर भिआइपीहरू लगातार आइरहेका छन्। स्वागतको झमेला थपिएको छ।’’
Facebook Comment
Comment