विश्वकप छनोट आइपुग्यो, आइपुगेनन् प्रशिक्षक

खेलाडी र क्यानबीच जुहारी

समस्या र कारण जे भएपनि नेपाली क्रिकेटको सर्वोच्च संस्था र क्रिकेट खेलाडीबीच नै को ठूलो भन्ने लडाइँ चलेपछि यसले अन्तरालमा सिध्याउने त नेपाली क्रिकेटलाई नै हो। अब यस्तो अवस्थामा नेपालको विश्वकप सपना फेरि तुहिएला भन्न कसरी नसकिएला?

विश्वकप छनोट आइपुग्यो, आइपुगेनन् प्रशिक्षक

काठमाडौं। सन् २०१४ मा पहिलो पटक विश्वकप खेलेर सम्भवत नेपाली खेलकुदकै ठूलो उपलब्धि नेपाली राष्ट्रिय टिमले हासिल गरको थियो। बंगलादेशमा भएको टी-ट्वान्टी विश्वकपमा पहिलो सहभागिता पछि नेपाली क्रिकेट समर्थकहरुको आशा थियो कि अब नेपालले कम्तिमा टी-ट्वान्टी विश्वकप चाहिँ नियमित खेल्नेछ।

तर त्यसपछिका लगातार दुई विश्वकप नेपालले खेल्न पाएन। सन् २०१६ र २०२१ को विश्वकपमा छनोट चरणबाट माथि नै उठ्न नसकेपछि नेपालको फेरि विश्वकप खेल्ने सपना पूरा हुन सकेको थिएन।

दोस्रो पटक विश्वकप खेल्ने मौका भने फेरि पनि आइसक्यो तर आफ्नै उल्झनमा अल्झिरहको नेपाली क्रिकेटले यो पटक पनि सपना त देखेको छ, विश्वकप खेल्ने छाँटकाँट भने देखाएको छैन।

अर्को वर्ष अष्ट्रेलियामा हुने आईसीसी टी-२० विश्वकपको ग्लोबल छनोट प्रतियोगिता खेल्न तयारीका लागि अब नेपालसँग करीब दुई महीनाको समय मात्र छ।

तर यता हालसम्म प्रमुख प्रशिक्षकको नै अत्तोपतो छैन। उता नेपाल क्रिकेट संघ (क्यान) को नेतृत्व र नेपाली राष्ट्रिय क्रिकेट टिमका केही खेलाडीहरु भने आ-आफै जुँगाको लडाइँ लड्नमा नै व्यस्त छन्।

सन् २०२२ को अक्टोबरमा हुने विश्वकपको लागि नेपाल ग्लोबल छनोटको समूह ‘ए’ मा परेको छ। जसका खेलहरु १५-२५ फेब्रुअरीमा ओमानमा हुनेछन्। यो समूहमा नेपालसहित टेस्ट राष्ट्र आयरल्याण्ड, आयोजक ओमान, यूएई, बहराइन, क्यानडा, जर्मनी र फिलिपिन्स गरी आठ टिम रहेका छन्।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले ग्लोबल छनोटको समूह विभाजन र खेल तालिका आधिकारिक रुपमा सार्वजनिक त गरेको छैन। तर पनि नेपाल क्रिकेट संघ क्यानलाई भने यो विषयमा प्रारम्भिक जानकारी गराइसकेको नेपाली टिमका टिम व्यवस्थापक विनोद दासले नेपालभ्यूजलाई बताए।

अन्तर्राष्ट्रिय संचार माध्यमहरुमा पनि ग्लोबल छनोटको समूह र खेलतालिकाको बारेमा समाचार आइसकेका छन्। यदि कोभिड बाधक नबनेमा छनोट खेल यही समय (१५-२५ फेब्रुअरी)मा हुनेछ।

यो ग्लोबल छनोटमा कुल १६ टिम छन्। दुई समूहमा राखेर राउण्ड रोबिन लिगका आधारमा खेलाइने ग्लोबल छनोटबाट दुवै समूहमा शीर्ष स्थानमा रहने दुई-दुई गरी कुल चार टिमले विश्वकपमा प्रवेश पाउनेछन्। विश्वकप खेल्ने अन्य १२ राष्ट्रको भने टुंगो लागिसकेको छ।

ग्लोबल छनोटको अर्को समूह ‘बी’ मा भने आयोजक जिम्बाबेसँगै हङकङ, सिंगापुर, अमेरिका, नेदरल्याण्डस्, पीएनजी लगाएतका राष्ट्र छन्।

नेपाल रहेको समूहमा रहेका चार टिम बहराइन, क्यानडा, जर्मनी र फिलिपिन्सलाई तुलनात्मक रुपमा नेपालभन्दा कमजोर मान्न सकिन्छ। तर नेपाललाई दोस्रोपटक विश्वकपमा पुग्न आयरल्याण्ड, ओमान र यूएईले ठूलो चुनौती दिने पक्का छ।

विश्व वरीयताक्रममा पनि नेपाल १२ औँ स्थानमा छ भने आयरल्याण्ड १३ औँ, यूएई १५ औँ र ओमान १७ औँ स्थानमा छन्। विश्वकप खेल्न नेपालले आफ्नो समूहको शीर्ष दुईमा पर्नु आवश्यक छ, जसका लागि यी तीन बलिया टिम मध्ये दुईलाई त छनोटमा पछार्नैपर्छ। तर यसको तयारिमा लाग्नुपर्ने नेपाली टिमको ताल भने अस्तव्यस्त छ।

प्रशिक्षकको पर्खाइ मै बित्यो दिनहरु

सबैभन्दा मुख्य कुरा त करीब ६० दिनपछि छनोट खेल्नुपर्ने भए पनि हालसम्म नेपाली टिमको प्रशिक्षकको टुंगो नै लागेको छैन। जसका कारण राष्ट्रिय टिमको खेलाडी छनोटदेखि टिम निर्माण र प्रशिक्षणसम्मका सबै काम शुरु नै हुन सकेको छैन।

क्यानले समयमा नै प्रशिक्षकको छनोट गर्न नसक्दा नेपालको टी-ट्वान्टी विश्वकपको भविष्य यो पटक पनि अन्यौलमा नै छ भन्दा अत्युक्ति नहोला।

नेपाली राष्ट्रिय क्रिकेट टिम प्रशिक्षकविहीन बनेको करीब तीन महिना भइसक्यो। गत भदौमा लिग डिभिजन-२ अन्तर्गतको ओमान टुरका दौरान नेपालका मुख्य प्रशिक्षक डेभ वाटमोरले राजीनामा दिएका थिए।

त्यसपछि क्यानले नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकको लागि दरखास्त आह्वान गरेको थियो। यसअघि यही मंसीर महीनाको दोस्रो हप्तासम्ममा प्रशिक्षक छनोट सकेर एउटा राष्ट्रिय प्रतियोगिता गरी विश्वकप छनोट खेल्न जाने राष्ट्रिय टिमका खेलाडी छान्ने क्यानको योजना थियो। तर प्रशिक्षक टुङ्गो नै समयमा लगाउन नसकेपछि कहिले प्रतियोगिता गर्ने, कहिले खेलाडी छान्ने?

प्रशिक्षकका लागि कुल ६० जनाको आवेदन परेकोमा क्यानले तीन चरणमा काम गरेर सर्टलिष्ट गरिएका सम्भावित प्रशिक्षकसँग अन्तरवार्ता पनि सकाइसकेको छ। तर पनि प्रशिक्षकको टुंगो छैन।

नेपाली टिमका टिम व्यवस्थापक बिनोद दास भन्छन्,“ प्रशिक्षक छनोट प्रक्रिया अन्तिम चरणमा नै छ। हामीले छानेको कोचहरुलाई हाम्रो तर्फबाट गर्नुपर्ने सबै अफर गरिसकेका छौँ र सम्भावित कोचको उत्तरको प्रतिक्षामा छौँ। अब एक दुई दिनमा नै क्यानमा उहाँहरुबाट जवाफ आउनुपर्छ, हामीले कोचलाई भोलि चाहियो भोलि नै नेपाल आउ भनेर भन्न मिल्दैन तर करीब एक हप्तामा प्रशिक्षकको घोषण हुन्छ।”

हुन त राष्ट्रिय टिमका खेलाडीहरुले व्यक्तिगत रुपमा तयारी थालिसकेका छन्। तर बिनाप्रशिक्षकको तयारी भनेको खेलाडीले आफ्नो फिटनेस र फर्मलाई कायमै राख्न गरेको प्रयासभन्दा अरु केही होइन।

नयाँ प्रशिक्षकमा हालको वेष्ट इण्डिज टिमका ब्याटिङ कोच भारतका मोन्टी देशाई बन्ने सम्भावना निकै बढी छ। त्यसपछि दोस्रो क्रममा नेपालकै पूर्वप्रशिक्षक पुबुदु दासानायके छन्। श्रीलंकन दासानायकेकाे प्रशिक्षणमा नै नेपालले पहिलो पटक विश्वकप खेलेको थियो।

आईसीसीको टी-ट्वान्टी वरीयता क्रममा नेपाल लगातार माथिल्लो स्थानमा रहँदै आएको छ। हाल नेपाल एसोसियट राष्ट्र मध्ये मात्र होइन टेष्ट मान्यता प्राप्त आयरल्याण्डभन्दा पनि माथि छ। तर विश्वकप खेल्न वरीयता क्रममा माथि भएर मात्र पुग्दैन। त्यसका लागि छनोट चरणको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै क्वालिफाई हुनु आवश्यक छ।

क्यान र खेलाडीको जुहारी बेग्लै 

एकातर्फ प्रमुख प्रशिक्षकको खोजीको तनाव बेग्लै छ भने राष्ट्रिय टिमका केही खेलाडीहरु र नेपाल क्रिकेट संघ (क्यान) को नेतृत्वको बीचमा अर्को बेग्लै जुहारी चलिरहेको छ।

क्यानको गत असोजमा बसेको बोर्ड बैठकले खेलाडीसँग नयाँ वार्षिक सम्झौता गर्नका लागि नयाँ वर्गिकरण सूची पारित गरेको थियो। सो वर्गिकरणमा क्यानले नेपालका फाष्ट बलर सोमपाल कामीलाई ‘बी’ श्रेणीमा राखेको लगायतका अन्य केही विषयमा असन्तुष्टि जनाउँदै कप्तान ज्ञानेन्द्रसँगै उपकप्तान दिपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरीले एक मिडियामा बोलेका थिए।

यही विषयमा क्यानले मल्लसँगै चार खेलाडीहरुसँग स्पष्टीकरण मागेको थियो। त्यसपछि खेलाडीहरुले क्यानसमक्ष लिखित स्पष्टीकरण पनि बुझाए।

तर खेलाडीहरु पनि के कम। क्यानले आफ्नो शक्ति देखाउन स्पष्टीकरण मागेपछि लगत्तै क्रिकेट खेलाडीहरुको समूहले पनि क्यान सामु विभिन्न प्रश्नहरु तेर्स्याउँदै ११ बुँदे ज्ञापनपत्र बुझाएर एक हप्ताको अल्टिमेटम दिँदै फेरि क्यानमाथि नै आफ्नो शक्ति प्रदर्शन गरे।

अब यता क्यान त झन के झुक्थ्यो र? खेलाडीहरुले दिएको स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै क्यानले दोस्रो पटक स्पष्टीकरण मागेको छ। फेरि पनि राम्रो स्पष्टीकरण नआए तेस्रो पटक स्पष्टीकरण नसोधिने कारबाहीमा जाने क्यानले जनाइसकेको छ।

यो बारेमा बुझ्न खोज्दा खेलाडीहरु सम्पर्कमा आउन चाहँदैनन्। खेलाडी वर्गिकरण मै असन्तुष्टिका कारण कतिपय खेलाडीले नयाँ सम्झौतामा हस्ताक्षर गरेका छैनन्, जसले उनीहरुको मासिक तलब पनि रोकिएको छ।

यो विषयमा क्यानका कार्यबाहक सचिव प्रशान्त विक्रम मल्ल भन्छन्,“खेलाडी वर्गिकरणको सूची कुनैपनि हालतमा परिवर्तन हुँदैन। क्यानले बनाएको समितिले स्पष्ट मापदण्डअनुसार खेलाडीको वर्गिकरण गरेको र यसमा कुनै पनि गल्ती नभएको र त्यो पुनरावलोकन गर्दैनौँ।”

यहाँ क्यानको ठूलो टाउको दुखाइ त खेलाडीले मिडियामा बोलेकोभन्दा पनि खेलाडीहरुले वर्गिकरणमा चित्त नबुझाएको र क्यानविरुद्ध गुटबन्दी गरेको कुरामा हो।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले यसै हप्ता खेलाडीहरुको यस्तो गुटबन्दीको खुलेरै विरोध गरे।

चन्दले भने, “पछिल्लो समय यदाकदा नेपाली क्रिकेटबाट सन्यास लिइसक्नुभएका केही साथीहरू र क्रिकेटमा अहिले निरन्तर खेलिरहनुभएका खेलाडीहरूबाट जानेर वा नजानेर क्रिकेट संघका बारेमा अनावशयक कुरा गरिरहनुभएको छ। निकै संघर्ष गरेर नेपाली क्रिकेटलाई आईसीसीको निलम्बनबाट हामीले सही बाटोमा ल्याएका छौँ। त्यसैले अनुशासनसँग चतुरबहादुर चन्दको नेतृत्वमा रहेको क्रिकेट संघले सम्झौता गर्दैन।”

नेपाली क्रिकेटमा एक भएर हिँड्नुपर्ने हुन् यी खेलाडी र संघ। तर दुवै पक्षमध्ये कुनै एक पक्ष पनि यो विवादमा पछि हट्ने अवस्थामा देखिँदैनन्। न त यी छलफलमार्फत समस्या समाधान तर्फ नै लागेका छन्।

समस्या र कारण जे भएपनि नेपाली क्रिकेटको सर्वोच्च संस्था र क्रिकेट खेलाडीबीच नै को ठूलो भन्ने लडाइँ चलेपछि यसले अन्तरालमा सिध्याउने त नेपाली क्रिकेटलाई नै हो। अब यस्तो अवस्थामा नेपालको विश्वकप सपना फेरि तुहिएला भन्न कसरी नसकिएला?


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved