पक्राउ पर्नुअघि रिगलले भने- अहिले अदालतको फैसला मान्छु, फेरि न्याय पाउने विश्वास छ

नेपालभ्युज

पक्राउ पर्नुअघि रिगलले भने- अहिले अदालतको फैसला मान्छु, फेरि न्याय पाउने विश्वास छ

काठमाडौं । रिगल भनिने योगराज ढकालले पक्राउ पर्नुअघि आफूले अदालतको फैसला मान्ने भन्दै पछि फेरि न्याय पाउने विश्वास गरेका छन् ।

अदालतले पक्राउ गर्न आदेश दिएलगत्तै सामाजिक सञ्जालमार्फत भिडिओ सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भडिओमा भनेका छन्–

अदालतको फैसलालाई स्वीकार्दै सम्मान गर्दै कानुनमाथि विश्वास राख्दै भोलि फेरि मैले न्याय पाउनेछु भन्ने आश राख्दै आत्मसमर्पण गर्न जाँदैछु । २०७२ सालमा मलाई दोष लगाएर दोषी बनाएका थिए । त्यतिबेला पनि मैले बाँके प्रहरी कार्यालयमा आत्मसमर्पण नै गरेको थिएँ । अहिले पनि अदालतले जुन फैसला गरेको छ, त्यसको सम्मान गर्दै भोलिका दिनमा न्याय पाउँछु भन्ने आशसहित म आत्मसमर्पण गर्न जाँदैछु ।

बिहीबार न्यायाधीश ईश्वर खतिवडा, सपना प्रधान मल्ल र डा। कुमार चुडालको इजलासले संविधान दिवसमा सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको कैद सजाय मिनाहा गर्ने निर्णय बदर गर्ने आदेश गरेको हो ।

आफ्ना पति चेतन मानन्धरको जघन्य हत्या गर्नेलाई कैद मिनाहाको सिफारिस गर्ने मन्त्रिपरिषद र मन्त्रिपरिषदको सिफारिस अनुसार कार्यान्वयन गर्ने राष्ट्रपतिको निर्णय खारेजीको माग गर्दै भारती मानन्धरले सर्वोच्च अदालतमा रिट दिएकी थिइन् ।

रिगलमाथि नेपालगञ्ज बजारमा खुँडा प्रहार गरेर २८ असार २०७२ मा चेतन मानन्धरको हत्या गरेको अभियोग छ । उनलाई जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ वैशाखमा दोषी ठहर गर्दै सर्वश्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved