कर्णाली एमालेमा पनि पौडेल-पोखरेल गुटको प्रभाव, अध्यक्षका लागि दर्जन आकांक्षी

यहाँ पनि लुम्बिनीमा जस्तै प्रदेशको नेतृत्वका लागि केन्द्रीय उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल समूहबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

कर्णाली एमालेमा पनि पौडेल-पोखरेल गुटको प्रभाव, अध्यक्षका लागि दर्जन आकांक्षी

सुर्खेत । नेकपा एमालेको कर्णाली प्रदेश अधिवेशन असोज १० गतेदेखि हुँदैछ । यहाँ अधिवेशनबाट चुनिने नेतृत्वप्रति धेरैको चासो छ ।

एमाले कर्णालीको नेतृत्वका लागि १० जनाभन्दा धेरैले आकांक्षा व्यक्त गरेका छन् । र, यहाँ पनि लुम्बिनीमा जस्तै प्रदेशको नेतृत्वका लागि केन्द्रीय उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल समूहबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

कर्णालीमा प्रदेश अध्यक्षका लागि कालिकोटका मीनबहादुर शाही, नगिन्द्र शाही(नेशनल), दैलेखका विष्णु रिजाल, राजबहादुर बुढा, जाजरकोटका भैरवसुन्दर श्रेष्ठ, नीरज आचार्य सुर्खेतका नवराज रावत, ध्रुव शाही, हुम्लाका दल रावल, मुगुका मोहन बाँनिया, दैलेखका विनोद शाह(हाल प्रदेश अध्यक्ष) पूर्वसभामुख राजबहादुर शाहीलगायत नेताहरूले लबिङ गरिरहेका छन् ।

कर्णाली प्रदेशबाट एमालेमा ३० जना केन्द्रीय सदस्य छन् । कार्यकारी भूमिका हुने भएकाले पोलिटब्युरो सदस्यसमेतले प्रदेश अध्यक्ष बन्ने रहर गरिरहेका छन् ।

पोलिटब्युरो सदस्य गुलावजंग शाह र लक्ष्मीप्रसाद पोखरेलले प्रदेश अध्यक्ष बन्नका लागि चाहना राखेको एमालेका प्रदेश स्तरीय नेताहरूले बताउँछन् ।

कर्णालीमा पौडेल गुटको नेतृत्व स्थायी कमिटी सदस्य यामलाल कँडेलले गरिरहेका छन् भने अर्का स्थायी कमिटी सदस्य गोरखबहादुर बोगटीले पोखरेल गुट चलाइरहेका छन् । कर्णाली एमालेमा कँडेल र बोगटीबीचको रस्साकस्सीले सर्वसम्मत नेतृत्व चुनिने सम्भावन कम छ ।

दोहोरो जिम्मेवारी नदिने निर्णयले आकांक्षी घट्ने अपेक्षा

एमालेले जनप्रतिनिधिलाई पार्टी संगठनको कार्यकारी जिम्मेवारीमा नराख्ने नीति लिएको छ । जसले धेरै आकांक्षीको बाटो नै छेकिने सम्भावना छ ।

पार्टीको प्रदेश र जिल्ला कमिटीको कार्यकारी पदमा जनप्रतिनिधिलाई उम्मेदवार बन्न रोक लगाएका कारणले पार्टीको प्रदेश अध्यक्षका आंकाक्षी दैलेखका विनोद शाह र जाजरकोटका भैरवसुन्दर श्रेष्ठ अध्यक्ष हुन पाउने छैनन् । श्रेष्ठ राष्ट्रियसभाका प्रमुख सचेतक हुन भने शाह कर्णाली प्रदेशसभाका सदस्य रहेका छन् ।

त्यस्तै, प्रदेश कमिटी र जिल्ला कमिटीको अबको अधिवेशनमा केन्द्र र प्रदेशका सांसद, मेयर र उपमेयर तथा पालिकाका अध्यक्ष र उपाध्यक्ष कार्यकारी पदको उम्मेदवार बन्न पाउने छैनन् । एमालेका जिल्ला र प्रदेशका अध्यक्ष, सचिव र पदाधिकारी भएका थुप्रै नेता सांसद र स्थानीय तहका जनप्रतिनिधि छन् ।

यद्यपि, एमालेका केन्द्रीय सदस्य तथा प्रदेश अध्यक्षका आंकाक्षी तथा हुम्ला जिल्ला ईन्चार्ज नगिन्द्र शाही(नेशनल)ले सहमतिमा नै नेतृत्वको चयन हुने बताएका छन् । ‘पदाधिकारीदेखि सदस्यसम्म गति र मति भएका सक्षम व्यक्तिहरू पार्टीमा आउनुपर्छ’, उनले भने, ‘त्यसका लागि हामी सकेसम्म सर्वसम्मतिको खोजी गर्छौं ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved