सुर्खेत । एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अहिलेको सरकारले सुशासनका क्षेत्रमा उल्लेख्य काम गरिरहेको बताएका छन् । सुर्खेतमा समाजवादी मोर्चाले आयोजना गरेको ‘सन्देश सभा’ सभालाई सम्बोधन गर्दै उनले अहिलेको सरकारको प्रशंका गरेका हुन् ।
उनले सरकारको अहिलेको सुशासन अभियानलाई सबैले साथ दिनुपर्ने पनि बताए ।
अहिलेको सरकारबाट दलाली, भ्रष्टाचारी र जनताको रगत, पसिना चुसिरहेकाहरु डराएको उनको भनाइ थियो । ‘अहिले सरकारको कामबाट देशभक्त र इमान्दारहरु खुसी भएका छन्’, उनले भने, ‘लुटेराहरु डराएका छन् ।’
कांग्रेस र वामपन्थी मिलेर पंचायत ढालेको स्मरण गर्दै अध्यक्ष नेपालले कम्युनिष्ट एकतामा जोड दिए । ‘२०६२/०६३ सालमा जनयुद्ध गरिरहेको माओवादी, एमाले, कांग्रेस र अन्य दल मिलेर राजतन्त्र फाल्यौं’, उनले भने ,‘एउटा औलाभन्दा मुठ्ठी शक्तिशाली हुन्छ । एकतामा बल हुन्छ ।’
अहिलेको निर्वाचन प्रणाली खर्चिलो भएको पनि उनको भनाइ थियो । निर्वाचन प्रणालीकै कारण गठबन्धन बनाएर चुनाव लड्नुपरेको उनले बताए ।
समाजवादी मोर्चा गठनले कांग्रेस डराउनपर्ने अवस्था नरहेको उनको भनाइ थियो ‘कांग्रेसलाई समाजवादी मोर्चा गठनले चिसो पसेको हल्ला चलाइयो । तर, यो मोर्चा गठनले कांग्रेसलाई राहत भएको छ,’ उनले भने ।
Facebook Comment
Comment