काठमाडौं। एकेडेमी अवार्डस् (द ओस्कार), अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल)ले ‘९६औँ ओस्कfर अवार्ड प्रतियोगिता’का लागि अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा सहभागी गराउन सूचना आह्वान गरेको छ । समितिले विज्ञप्ति जारी गर्दै नेपाली चलचित्रलाई उक्त पुरस्कारको प्रतियोगितामा अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा सहभागी गराउन आवेदन माग गरेको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘एकेडेमीद्वारा तोकिएका सबै मापदण्ड पुग्ने एउटा उत्कृष्ट चलचित्र छनोट गरी सो प्रतियोगितामा प्रतिस्पर्धी चलचित्रका रूपमा सिफारिस गरी जानकारी गराउन उक्त संस्थाबाट अनुरोध भइआएकाले ९६औँ ओस्कार अवार्ड प्रतियोगितामा सामेल हुन चाहने सबै नेपाली चलचित्र निर्देशक र निर्माताहरूलाई आफ्नो चलचित्र २०२३ सेप्टेम्बर १५ तारिख अर्थात् मिति २०८० भदौ २९ गते शुक्रबार दिनको ५ बजेभित्र समितिको सचिवालयमा सम्पर्क गरी दर्ता गराउन आह्वान गरिन्छ ।’
प्रतिस्पर्धामा भाग लिन चाहेको चलचित्र सन् २०२२ डिसेम्बर १ तारिख अर्थात् वि.सं. २०७९ असोज १५ गते भन्दा पछि तथा सन् २०८० सेप्टेम्बर ३० तारिख अर्थात् वि.सं. २०८० साल असोज १४ गतेभन्दा पहिला नै सार्वजनिक प्रदर्शन आएका हुनुपर्नेछ ।
दरखास्तका साथमा चलचित्र जाँच (सेन्सर) गरिएको प्रमाणपत्र, हलमा रिलिज नभएर ओटीटीमा रिलिज भएको हो भने सोको प्रमाण, ३५ एम.एम. वा ७० एम.एम.को भिडियो वा २४–४८ फ्रेममा प्याकेज गरिएको डिजिटल सिनेमा, यसैगरी २०४८ देखि १०८० पिक्सेलसम्म प्रोजेक्सन रेजुल्युसन भएको डिजिटल सिनेमा, ५.१ अथवा ७.१ मा उपलब्ध अडियो, निर्देशक, निर्माता, कलाकार आदिका साथै सबै प्राविधिकहरूको नामावली (क्रेडिट टाइटल्स् सिनेमामा देखाइएको क्रममा), अङ्ग्रेजी भाषामा लेखिएको चलचित्रको संक्षिप्त सारांश (कथासार), निर्देशकको फिल्मोग्राफी र फोटो, सम्बन्धित चलचित्रका ३ देखि ५ वटासम्म स्थिर फोटाहरू, चलचित्र रिलिज हुँदाको एउटा अफिसियल पोस्टर लगायत प्रमाण सहित सात दिनभन्दा पेस गर्नुपर्नेछ ।

Facebook Comment
Comment