भ्रष्टाचार मुद्दाका कारण सप्तरीका तीन स्थानीय तह प्रमुखविहीन

सप्तरीको राजविराज, शम्भुनाथ र विष्णुपुर पालिकाका प्रमुखहरु भ्रष्टाचारको आरोपमा निलम्बित भएपछि पालिकाहरु  प्रमुख विहीन बनेका हुन् ।

भ्रष्टाचार मुद्दाका कारण सप्तरीका तीन स्थानीय तह प्रमुखविहीन

जनकपुरधाम। सप्तरी जिल्लाका तीनवटा पालिका प्रमुखविहीन बनेका छन् । सप्तरीको राजविराज, शम्भुनाथ र विष्णुपुर पालिकाका प्रमुखहरू भ्रष्टाचारको आरोपमा निलम्बित भएपछि पालिकाहरू  प्रमुख विहीन बनेका हुन् ।

सप्तरीको विष्णुपुर गाउँपालिकाका २ कर्मचारी पक्राउसँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा परेका गाउँपालिका अध्यक्ष उमेशप्रसाद यादव निलम्बित भएका छन् ।

यसअघि राजविराज र शम्भुनाथ नगरपालिकाका नगर प्रमुख निलम्बनमा परेका थिए।

सोलार बत्ती जडान योजनाको भुक्तानीवापत घुस मागेको सम्बन्धमा विष्णुपुर गाउँपालिकाविरुद्ध विशेष अदालतले म्याद थप गरी थुनामा राखेसँगै उनी निलम्बनमा परेका हुन् । लेखापाल र एमआईएस अपरेटरलाई घुस रकम लिन पठाएको विषयमा सोधपुछ र अनुसन्धानका लागि अध्यक्ष यादवलाई भदौ ६ गते अख्तियारले नियन्त्रणमा लिएको थियो ।

राजविराजस्थित गजेन्द्र चोकबाट गत साउन ३१ गते सोलारसम्बन्धी योजनामा घुसको रूपमा २ लाख रुपैयाँ नगद र ३ लाख रुपैयाँ चेक लिँदै गर्दा विष्णुपुर गाउँपालिकाका लेखापाल टेकनारायण यादव र एमआईएस अपरेटर वीरेन्द्र कुमार यादव पक्राउ परेका थिए । अख्तियारले विष्णुपुर गाउँपालिकालाई पत्राचार गर्दै अध्यक्ष यादव निलम्बनमा परेको जानकारी दिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १६ (४) बमोजिम विशेष अदालतबाट म्याद थप भई थुनामा रहेका सार्वजनिक पद धारण गरेका राष्ट्रसेवक उक्त ऐनको दफा १७ र तथा भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३३ वमोजिम स्वतः निलम्बन हुने प्रावधान छ ।

सोलारसम्बन्धी योजनामा अध्यक्ष यादवसँग बार्गेनिङ्गपश्चात् ५ लाख रुपैयाँमा कुरा टुंगिएको र अध्यक्षले नगदै माग गरेकोमा सेवाग्राहीले दुई लाख रुपैयाँ मात्र नगद जम्मा गर्न सकेको भनेपछि ३ लाख रुपैयाँको चेक दिने सहमति भएको अख्तियारको दाबी छ । उक्त रकम लिन अध्यक्ष यादवले नै कर्मचारीहरूलाई पठाएको प्रमाणका आधारमा मुद्दा चलाइएको अख्तियारका प्रवक्ता भोला दाहालले बताए ।

यसअघि, अख्तियारको कारबाहीमा सप्तरीका २ नगर प्रमुख परिसकेका छन् । राजविराज स्थित रंगशाला खेलमैदान स्तरोन्नति कार्यमा अनियमितता गरेको भन्दै अख्तियारले निर्माण कम्पनी न्यू गहिल कन्स्ट्रक्सनका सञ्चालकको हैसियतमा राजविराज नगरपालिकाका नगरप्रमुख भीमराज यादवमाथि विशेष अदालतमा आरोपपत्र दायर गरेपछि भीमराज निलम्बित भएका थिए ।

पदभार ग्रहण गरेको दुई महिना नपुग्दै २०७९ असार २९ गते राजविराज नगरपालिकाका नगर प्रमुख भीमराजमाथि आयोगले मुद्दा दायर गरेको थियो ।

गत साउन ३२ गते विशेष अदालतले भीमराजमाथिको आरोपमा दोषी ठहर गर्दै जरिवाना गरेको छ। यादव जनता समाजवादी पार्टी (जसपा)बाट नगर प्रमुख पदमा नेकपा (माओवादी केन्द्र)का शम्भुप्रसाद यादवलाई पराजित गर्दै निर्वाचित भएका थिए ।

आर्थिक वर्ष ००७४ मा राजरंगशालाको स्तरोन्नतिका लागि भएको निर्माण कार्यमा नगर प्रमुखसमेत रहेका न्यू गहिल कन्ट्रक्सनका सञ्चालक भीमराज यादव, उदय निर्माण सेवाका सञ्चालक उदय श्रेष्ठ, जिल्ला विकास समिति सप्तरीका तत्कालीन इन्जिनयर विकास श्रेष्ठ, जिल्ला खेलकुद विकास समितिका तत्कालीन प्रमुखद्वय लक्ष्मण मण्डल, महेन्द्रप्रसाद यादव, समितिका अध्यक्ष एजेट न्यासुर र उपाध्यक्ष धीरेन्द्र बर्माविरुद्ध आरोपपत्र दायर गरिएको थियो ।

यस्तै, सप्तरीको शम्भुनाथ नगरपालिकाका नगर प्रमुख जितेन्द्रप्रसाद गुप्ता निलम्बित छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगरप्रमुख गुप्ताविरुद्ध घुस लिएको आरोपमा विशेष अदालतमा आरोपपत्र दायर गरेसँगै नगर प्रमुख गुप्ता निलम्बित छन् । नगर प्रमुख गुप्ता र नगरपालिकाका इन्जिनयर रामचन्द्र साहबीचको आपसी मिलेमतोमा विद्यालयको सभाहल निर्माणको अन्तिम बिल भुक्तानी प्रयोजनका लागि सेवाग्राहीसँग एक लाख ४० हजार रुपैयाँ घुस लिएको पुष्टि हुन आएकोले नगरप्रमुख गुप्ता र इन्जिनियर साहमाथि विशेष अदालतमा आरोप पत्र दायर गरिएको छ ।

अख्तियारको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले गत माघ ३ गते इन्जिनियर साहलाई एक लाख ४० हजार रुपैयाँ घुस लिइसकेको भन्दै नियन्त्रणमा लिएको थियो ।

इन्जिनियर साहलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको अख्तियारले नगर प्रमुख गुप्ताको पनि संलग्नता पाएपछि उनी समेतलाई विपक्षी बनाई विशेष अदालतमा आरोपपत्र दायर गरेको थियो । दुवै जनालाई बिगो एक लाख ४० हजार कायम गरी विशेष अदालतमा आरोपपत्र दायर गरिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved