काठमाडौं। नेपाली कांग्रेस चितवनको अधिवेशन बुधबारदेखि शुरु हुने भएको छ। पहिलो दिन उद्घाटन र मनोनयन हुनेछ भने मंसीर १८ गते निर्वाचन गर्न सिफारिस गरिएको छ।
नेपाली कांग्रेस चितवन कार्यसमितिको आज बसको बैठकले निर्वाचन समितिलाई अधिवेशनको मिति सिफारिस गरेको जिल्ला सचिव उत्तम जोशीले जानकारी दिए। मंसीर १५ देखि १७ गतेसम्म बागमती प्रदेश समितिको निर्वाचन प्रक्रिया हुने भएकाले १८ गते मात्र पार्टीको जिल्ला कार्यसमितिको निर्वाचन गर्न लागिएको हो।
यही ११ मंसीरमा निर्वाचन गर्ने भनिएकामा नेकपा (एमाले) को राष्ट्रिय महाधिवेशनका कारण समस्या हुने भन्दै स्थगित गरिएको थियो।
जिल्लाको आजको बैठकले अधिवेशन सम्पन्न गर्न विभिन्न समिति गठन गरेको छ। कांग्रेसको विधानमा जिल्ला सभापतिका लागि ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्ने भएकाले दोस्रो चरणमा निर्वाचन गर्नुपर्ने हुन्छ।
यसका लागि कम्तीमा तीन दिन लाग्ने बताइएको छ। सभापति पदका ६ प्रत्यासी छन्।
Facebook Comment
Comment