काठमाडौं। साफ च्याम्पियनसिपको आफ्नो तयारी मापन गर्न भारतलाई घरेलु मैदानमा आमन्त्रण गरेको नेपालले दुवै खेल राम्रो खेल्यो। तर, दुवै खेल जित्न सकेन।
पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा १-१ गालको बराबरीको खेल खेलेको नेपाल आइतबार दोस्रो खेलमा २-१ ले पराजित भयो। टिममा नयाँ र युवा खेलाडीहरुलाई मौका दिइरहेका र साफअघि विभिन्न प्रयोग गरिरहेका नेपालका प्रशिक्षक अब्दुल्ला अलमुताइरीले आइतबार टिममा तीन परिवर्तन गरे।
अघिल्लो खेलका गोल स्कोरर अन्जन बिष्ट र अर्का स्टाइकर नवयुग श्रेष्ठलाई बेन्चमै राखे। युवा स्टाइकर मनिष डाँगी र आशिष लामालाई मौका दिए। डिफेन्समा पनि सुमन अर्यालको ठाउँमा सुजल श्रेष्ठले खेले।
भारतले भने अघिल्लो खेलमा अन्जन विष्टको गोल खाएका गोलरशक्षक गुरप्रित सिंह सन्धुलाई टिममा राखेको थिएन। उता नेपालका गोलरक्षक किरण चेम्जोङ भने शुरुवाती टिममा पर्दा नेपालका लागि सर्वाधिक ७४ खेल खेल्ने रेकर्ड बनाउन सफल भए।
राम्रो खेल, कमजाेर फिनिसिङ
आइतबार दशरथ रङ्गशालामा अधिकांश समय खेल नेपालको पकडमा रह्यो। तर, सधैंको जस्तै फिनिसिङमा चुक्दा नेपालले यो खेल गुमाउन पुग्यो।
खेलको पहिलो हाफ पूरै नेपालको कब्जामा थियो। तर, गोलका लागि पाएका स्पष्ट मौकाहरुलाई भने सदुपयोग गर्न सकेन। खेलको १३ औं मिनेटमा तेज तामाङको प्रहार भारतका डिफेन्डरलाई लागेर डी बक्समा नेपालका स्टाइकर मनिष डाँगी नजिकै पुग्यो। तर, किप्पर मात्र भएको अवस्थामा पनि आफैं अलमलिएर डाँगीले सुवर्ण अवसर खेर फाले।
२७ औं मिनेटमा आयुष घलानको क्रसमा आशीष लामाले पेनाल्टी बक्सभित्र गरेको हेडरले बल छुन नसक्दा अर्को राम्रो मौका गुम्यो। दोस्रो हाफको पहिलो सत्रसम्म पनि नेपालको दबाब कायमै थियो। तर, नेपाली फुटबलको सधैंको टाउको दुखाइको विषय रहेको फिनिसिङको कमी यथावत् देखियो।
प्रशिक्षक अलमुताइरीले टिमको अन्य विभागमा सुधारको संकेत देखाए पनि यो कमजोरीलाई भने सुधार्न सकेका छैनन्। खेलपछि उनले भने, “फिनिसिङकाे लाइन-अपमा कमजोरी छ, तर एकदुई महिनामा नै यो सुधार हुँदैन। हामीले प्रयास गरिरहेका छाैं।”
नेपालको अर्को कमजोरी भनेको मुभ बनाएर बललाई पेनाल्टी बक्समा लान नसक्नु देखियो। नेपाली स्ट्राइकरले प्रायः पाएका बललाई पेनाल्टी बक्स बाहिरबाटै प्रहार गर्न खोज्दा त्यसले सही दिशा लिन सकिरहेको थिएन।
दोस्रो हाफमा खेलमा फर्कियो भारत
भारत भने यो खेलमा पहिलोभन्दा बढी दबाबमा देखिन्थ्यो। नेपालभन्दा फिफा वरीयतामा निकै माथि भएर यसखाले खेल प्रदर्शन गर्नु नै उसका लागि लज्जास्पद थियो।
बलमा नियन्त्रण राखे पनि भारतको अग्रपंक्ति भने बारबार विफल भइरहेको थियो। पहिलो हाफमा खासै गतिलो मौका भारतले बनाउन सकेन। भारतका प्रशिक्षक इगोर स्टिम्याक त झन् तनावमा थिए। किनकि, नेपालसँगको पहिलो खेलमा भारतको खराब प्रदर्शनका कारण भारतभर सामाजिक सञ्जालमा उनको राजीनामा मागिएको थियो। जसको कारण उनलाई यो खेल जित्नु नै थियो।
भारतले लय समात्न ६२ मिनेट लाग्यो। कप्तान सुनिल क्षत्रीको हेडर पासमा सब्सिच्युट खेलाडी फारुख हाजी चौधरीले पोष्ट नजिकैबाट गोल गरे। यसपछि नेपाल बराबरी गोल फर्काउन आतुर देखिन्थ्यो। तर डिफेन्स अघि बढेको मौकाको फाइदा उठाउदै ८० औं मिनेटमा सुनिल क्षेत्रीले भारतको लागि दोस्रो गोल गरे।
काउन्टर अट्याकमा सेन्टर लाइनदेखि एक्लै बल लगेर क्षेत्रीले भारतलाई अग्रता दिलाएका थिए। क्षेत्रीको नेपालबिरुद्ध १० खेलमा छैटाैँ गोल थियो भने दशरथ रङ्गशालामा पहिलो।
यो खेल जितेपनि भारतले आफ्नो स्तरको खेल देखाउन सकेन। भारतका प्रशिक्षक भन्छन, “दुवै खेलमा भारत बलियो टिम हो, तर नेपालले राम्रो खेल देखायो। भारतले धेरै कुरा प्रमाणित गर्नुपर्नेछ र धेरै सुधार पनि गर्नुपर्नेछ।”
तेजको उत्कृष्ठ गोल
पहिलो हाफ जस्तै दोस्रो हाफमा पनि नेपालको मौका खेर फाल्ने क्रम जारी थियो। ६८ औं मिनेटमा नवयुगको पासलाई बिशाल राईले पेनाल्टी बक्स भित्रबाट सही दिशा दिन सकेनन्। यसको ६ मिनेटपछि नै मनिष डाँगीले गोलपोष्ट नजिकैबाट गोल गर्ने अर्को मौका गुमाए।
तर, खेल सकिन मात्र ३ मिनेट बाँकी छँदा तेज तामाङले करिब २५ यार्ड टाढाबाट लामो प्रहार मार्फत उत्कृष्ठ गोल गरे। तेजले गाेल गरे पनि खेलमा फर्कन नेपाललाई ढिला भइसकेको थियो।
हारपछि प्रशिक्षक अलमुताइरीले भने, “नेपालले खेल राम्रो खेल्यो तर मौका सदुपयोग गर्न सकेन। ४/५ वटा गोल गर्ने मौका खेर गयो र खेल हार्यो। तर यो मात्र मैत्रीपूर्ण खेल हो अब हामी साफमा केन्द्रित हुन्छौँ।”
यो खेलमा प्रशिक्षक अलमुताइरीले डिफेन्डर राजन गुरुङ र गोलकिपर बिशाल श्रेष्ठलाई राष्टिय टिममा डेब्यू गराएका छन्। अघिल्लो खेलमा जस्तै यो खेलमा पनि तेज तामाङ नेपालका लागि उत्कृष्ठ खेलाडी घोषित भए।
Facebook Comment
Comment