काठमाडौं । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालयले पुस्तकालयमा बसेर अध्ययन गर्न शुल्क तोकेपछि विद्यार्थी आक्रोशित भएका छन् । उनीहरुले पुस्तकालयले शुल्क लिने कुरा अव्यवहारिक भएको भन्दै आपत्ति जनाएका हुन् ।
केन्द्रीय पुस्तकालयले भदौ १ गतेदेखि विद्यार्थीले पुस्तकालयभित्र बसेर अध्ययन गर्न चाहे शुल्क तिर्नुपर्ने मापदण्ड बनाएको थियो । मापदण्डअनुसार अब ६ महिना सदस्यता बन्न ६ सय रुपैयाँ र परिचयपत्र शुल्क एक सय गरी सात सय रुपैयाँ, एक वर्ष सदस्यता बन्न एक हजार रुपैयाँ र परिचयपत्र शुल्क एक सय गरी ११ सय रुपैयाँ तिर्नुपर्नेछ ।
विद्यार्थी रामहरि लामिछानेले पुस्तकालयमा बसेर अध्ययन गर्ने शुल्क महंगो भएको बताए । उनले पुस्तकालय कार्यालय समयमा मात्रै खुल्ने गरेको भन्दै २४ सै घण्टा सञ्चालन गरेर पुस्तकालयलाई विद्यार्थीमैत्री बनाउनुपर्ने पनि बताए ।
त्यस्तै अर्का विद्यार्थी खगेन्द्र रिजालले पुस्तकालयले त्रिविमै अध्ययनरत विद्यार्थीबाट समेत अध्ययनका लागि बस्न शुल्क लिएको भन्दै गुनासो गरे । पुस्तकालयले बसेर अध्ययन गर्दा पनि शुल्क लिँदा विपन्न विद्यार्थी मारमा पर्ने बताए ।
रिजालले कतिपय विद्यार्थीहरु कीर्तिपुरमा बसेर पढ्नका लागि जुम्ला, कालीकोट, मुगुलगायतका विकट जिल्लाहरुबाट पनि आउने गरेको भन्दै आर्थिक अवस्था कमजोर भएकालाई शुल्क तिर्न गाह्रो हुने बताए ।
उनले पुस्तकालयमा अध्ययनका क्रममा विद्यार्थीहरुबीच द्वन्द्व, विवादहरु नियमन गर्न शुल्क तोकेपनि आर्थिकरुपमा विपन्न विद्यार्थीका लागि पुस्तकालयले निर्णय सच्याउनुपर्ने बताए ।
त्रिवि केन्द्रीय क्याम्पसका स्ववियु सभापति श्यामराज ओझाले पुस्तकालयमा लोकसेवा, जापनिज भाषा पढ्नेहरुले हडपेर बस्ने अवस्था आएपछि व्यवस्थित गर्न पुस्तकालयमा अध्ययन गर्न शुल्क निर्धारण गरेको बताए ।
पुस्तकालयका निमित्त प्रमुख सागरराज सुवेदीले पुस्तकालयमा अध्ययनरत विद्यार्थीको रेकर्ड राख्न पनि नियमन गरिएको बताए । उनले विद्यार्थी सदस्यता कार्ड नहुँदा भद्रगोल भएका कारण नियमन र पहिचान गर्न सदस्यता कार्ड लागू गरिएको तर्क गरे ।
Facebook Comment
Comment