ठेक्का विवादले उपमेयर र कर्मचारीबीच नोकझोक, कर्मचारीले आन्दोलन गर्दा सेवाग्राही मर्कामा

नेपालभ्युज

ठेक्का विवादले उपमेयर र कर्मचारीबीच नोकझोक, कर्मचारीले आन्दोलन गर्दा सेवाग्राही मर्कामा

जनकपुरधाम। महोत्तरीको गौशाला नगरपालिकाका कर्मचारीहरूको आन्दोलनका कारण चारदिन यता नगरपालिकाको कामकाज ठप्प भएको छ।

नगरपालिकाबाट प्रवाह हुने विभिन्न किसिमको सिफारिस लिन आएका सेवाग्राहीहरू चार दिनदेखि रितै फर्किनु परेको छ।

मालपोतको रसिद काट्न नपाएर सेवाग्राहीहरूले बैंकलगायतका कामकाज प्रभावित भएको गुनासो गरेका छन्।
नगरका कर्मचारी आन्दोलनमा उत्रेपछि घटना दर्ता, विभिन्न सिफारिस, जग्गा किनबेच, सामाजिक सुरक्षा भत्ताजस्ता काम अवरुद्ध भएपछि आफूहरू मर्कामा परेको एक सेवाग्राहीले गुनासो गरे।

गौशाला नगरपालिकाका उपप्रमुख रेनुकुमारी महतोले दुर्व्यवहार गरेको आरोप लगाउँदै कर्मचारीहरूले विरोधमा उत्रिएका हुन्।

उपप्रमुख महतोले राजस्व शाखाका नायव सुब्बा दीपेन्द्र यादवलाई सोमवार कार्यकक्षमै दुर्व्यवहार गरेको कर्मचारीको आरोप छ। घटनाको छानबिनको माग गर्दै कर्मचारीले विरोधको कार्यक्रम जारी राखेका छन्।

उपमेयरविरुद्ध विभिन्न नारा लेखिएका प्लेकार्डसहित हातमा कालोपट्टी बाँधेर कर्मचारी धर्नामा बसेका छन्। नगरपालिकाको साथै १२ वटै वडाको सेवा प्रवाह प्रभावित भएको सेवाग्राहीको भनाइ छ।

घटनालगत्तै नगर कर्मचारीले सोमवार अपराह्न विज्ञप्ति जारी गर्दै दुर्व्यवहारको निन्दा र दोषीमाथि कारबाही नभएसम्म अनिश्चितकालीन विरोधको कार्यक्रम गर्ने जनाएका छन्।

आन्दोलनरत कर्मचारीले सुरक्षा प्रत्याभूति, घट्ना छानबिन तथा उपप्रमुखमाथि कारबाहीको माग राख्दै प्रमुख जिल्ला अधिकारीलाई समेत ज्ञापन पत्र बुझाएका छन्। प्रशासन कार्यालयले आवश्यक कारबाहीका लागि उक्त ज्ञापन पत्र जिल्ला प्रहरीमा पठाइएको सहायक प्रजिअ उपेन्द्र न्यौपानेले बताए।

उपप्रमुख रेनुकुमारी महतोले भने नियोजित र दुराशयपूर्ण रहेको भन्दै आरोपको खण्डन गरेकी छिन्। ‘आरोपको आधार र प्रमाण के छ ?’ उनले प्रतिप्रश्न गर्दै गरिन्, ‘मैले राजस्वसम्बन्धी फाइल माग्दा नदिनुपर्ने कारण के हो ?’

आफूलाई जानकारी नदिई ठेक्का लगाउने काम भएको उनको भनाइ छ। ‘ठेक्कासम्बन्धी कागजात माग्नु नै दुर्व्यवहार हो ?’ उपप्रमुखले प्रश्न गरेकी छिन्।

उपमेयरले बजार ठेक्का र अनलाइन प्रक्रियाबाट लगाएको ठेक्कासम्बन्धी कागजात माग गरेको कुरा सही भएको नासु दीपेन्द्र यादवले स्वीकार गरे। नदिएपछि आफूमाथि दुर्व्यवहार भएको उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved