हट्यो संसद्को अवरोध

नेपालभ्युज

हट्यो संसद्को अवरोध

काठमाडौं । संसद्को अवरोध हटेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आत्मालोचनासहित स्पष्टीकरण दिएपछि संसद्‌को अवरोध हटेको हो ।

यसअघि प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले प्रधानमन्त्री प्रचण्डले असार १८ गते एक पुस्तक विमोचनको क्रममा दिएको अभिव्यक्तिलाई लिएर लगातार संसद् अवरुद्ध गर्दै आएको थियो । त्यसबेला प्रधानमन्त्री प्रचण्डले झन्डै सात दशकअघि भारतको जम्मू-कश्मीरबाट नेपाल आएर बस्दै आएका सरदार प्रीतम सिंहले आफूलाई प्रधानमन्त्री बनाउन भारत धाएको अभिव्यक्ति दिएका थिए । एमालेले यसैलाई ‘इस्यू’ बनाएर संसद् अवरुद्ध गर्दै आएको थियो ।

तर, प्रधानमन्त्री प्रचण्डले आत्मालोचनासहित स्पष्टीकरण दिएसँगै अवरोध हटेको छ । स्पष्टीकरण दिने क्रममा प्रधानमन्त्री प्रचण्डले गल्ती स्वीकारे । उनले भनेका छन्, “मैले त्यसो नभन्दा पनि हुन्थ्यो । भनिहालेँ । तर, बिगारेकोचाहिँ केही पनि छैन । त्यसबेला म प्रधानमन्त्री बनेर होइन, ज्ञानुको बुवा बनेर बोलेँ । भावनामा बगेँ ।”

प्रचण्डको स्पष्टीकरण- पुस्तक विमोचनमा प्रधानमन्त्री बनेर होइन, ज्ञानुको बुवा बनेर बोलेँ (पूर्णपाठ)

त्यसअघि उनले भने, “पुस्तक विमोचनका क्रममा मैले व्यक्त गरेको भाषाबाट पर्न गएको असहजताप्रति म दु:ख व्यक्त गर्न चाहन्छु । मेरो मनसाय कसैप्रति अनादर गर्ने वा आरोप-प्रत्यरोप गर्ने होइन । मन नहुँदानहुँदै पनि यसअघिका कतिपय टिप्पणी/वक्तव्य हरूमा देखिएका त्यस्ता भावहरूप्रति म दु:ख व्यक्त गर्दछु ।”

यससँगै अब संसद् खुलेको छ । आजै एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले प्रधामन्त्री प्रचण्डसँग छलफल गरेका थिए । प्रधामन्त्री प्रचण्डसँगको छलफलपछि संसद्‌मा स्पष्टीकरण दिने निर्णयमा पुगेको एमालेले आजको बैठक सहजरूपमै सञ्चालन हुन दियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved