काठमाडौं । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ दलहरुलाई ‘विचार नभएका तर सामाजिक सञ्जालमा गाली गरेर उदाएको’ आरोप लगाएका छन् ।
सोमबार स्व. गिरिजाप्रसाद कोइरालाको १०० औं जन्मजयन्तीको अवसरमा काठमाडौंमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले विचारविहीनहरुले देशको राजनीतिक कोर्ष परिवर्तन गर्ने दुस्साहस गरेको पनि बताए ।
‘सिद्धान्त र राजनीतिक एजेण्डामा केन्द्रित पनि हुन नपर्ने, सामाजिक सञ्जालमा गाली गरेकै भरमा देशको राजनीतिक कोर्षलाई नै दायाँबायाँ गर्न खोज्ने प्रवृत्ति हाबी भएको छ’, प्रचण्डले भने, ‘त्यस्तो प्रवृत्तिलाई रोक्नु अहिले चुनौतीपूर्ण भएको छ ।’
उनले अहिले देखिएको अराजकताप्रति हेलचेक्र्याइँ गर्ने हो भने देश दुर्घटनामा पर्ने पनि बताए । प्रधानमन्त्री दाहालले सुशासन, समृद्धि, सामाजिक न्यायको पक्षमा एउटा अर्को शान्तिपूर्ण क्रान्तिको आवश्यकता रहेको बताए ।
‘आम नेपाली जनताको मेहनत र बलमा प्राप्त भएको यो परिवर्तन अहिले विचारको आवश्यकता पनि महसुस नगर्ने, सिद्धान्त र राजनीतिक एजेण्डामा केन्द्रित पनि हुन नपर्ने, सामाजिक सञ्जालमा गाली गरेकै भरमा देशको राजनीतिक कोर्षलाई नै दायाँबायाँ गर्न खोज्ने जो प्रवृत्ति देखिएको छ’, उनको भनाइ छ, ‘हामीले आफ्नो आत्मसमीक्षा गरेर फेरि एउटा नयाँ इच्छाशक्तिसहित राष्ट्र र जनताको जीवन बदल्ने पहल नगर्ने हो स्थिति गम्भीर मोडमा पुग्नसक्छ ।’
निश्चित र उन्नत विचारसहित आउने हो भने नयाँ दलसँग सहकार्य गर्न समस्या नभएको उनको भनाइ छ ।
Facebook Comment
Comment