काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आम सञ्चारसम्बन्धि विधेयक छिटो भन्दा छिटो संसदमा पेश गर्ने बताएकी छन् । सो विधेयकलाई संसदमा ल्याउनका लागि सरकारले विज्ञहरुसँग आवश्यक सुझाव लिएको र त्यसलाई संसदमा पेश गर्ने प्रक्रियाका लागि मन्त्रालयले काम गरिरहेको पनि बताए ।
आईतबार प्रतिनिधिसभा बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको विनियोजन शिर्षकमाथिको छलफलमा भाग लिँदै मन्त्री शर्माले सञ्चार र सूचना प्रविधिसँग सम्बन्धित धेरै ऐनहरु पुराना भएकाले त्यसलाई अध्यावधिक गरेर नयाँ कानुन बनाउने काममा पनि सरकारले ढिलाई नगर्ने बताईन् ।
उनले दुरसञ्चार सम्बन्धि फोरजी सेवाको देशभर विस्तार र फाइभजी सेवाको लन्च गरेर शिक्षा, स्वास्थ्य, पर्यटनलगायतका क्षेत्रहरुको पूर्वाधार विकासगरी मुलुकको राजस्व वृद्धिमा योगदान पुर्याउने योजनाका साथ काम भईरहेको दावी समेत गरिन् ।
‘अहिले नेपाल टेलिकमले फाइभजीको परीक्षण गर्दैछ, यो परीक्षण सफल भईसकेपछि हामी फाईभजीलाई लन्च गर्छाै । यो हाम्रो आवश्यक्ता हो र, फाईभजी लन्च गरीसकेपछि हामीले यसलाई हाम्रो शिक्षा, स्वास्थ्य, पर्यटन लगायतका सबै पूर्वाधारको विकासमा र राज्यको राजस्व अभिवृद्धिमा यसलाई प्रयोग गरिनेछ, उनले भनिन, ‘आम सञ्चार सम्बन्धि विधेयकका विषयमा हामीले यस क्षेत्रका विज्ञहरुलाई समेटेर मन्त्रालयमा कार्य दलनै बनाएर यी सम्बन्धि विधेयकहरुको सन्दर्भमा सुझावहरु प्राप्त गरेका छौं र, मन्त्रालय त्यसमा वर्कआउट गर्दैछ । ’
मन्त्री शर्माले सूचना र प्रविधिको क्षेत्रमा भएको तीव्र विकासलाई मध्यनजर गरेर ऐन, नियमहरु बनाउने काममा सरकारले विशेष ध्यान दिने पनि बताईन् ।
Facebook Comment
Comment